कैलाली। कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा २ दिने डिजिटल क्षमता विकास तालिम सम्पन्न भएको छ । घोडाघोडी नगरपालिकाको वडा नं. १ स्थित घोडाघोडी बहुमुखी क्याम्पसकाे सभाहलमा आज बिहीबार तालिम सम्पन्न भएकाे हाे । विश्व विद्यालय अनुदान आयोगको उच्च शिक्षामा विशिष्टता कार्यक्रम अन्तर्गत डिजिटल क्षमता विकास कार्यक्रममा छनाैटमा परेका सुदूरपश्चिमका ९ ओटा क्याम्पसकाे संयुक्त आयोजनामा तालिम सम्पन्न भएकाे हाे ।

सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लामा रहेका ९ क्याम्पसका प्राध्यापक एवम् प्रशासनिक कर्मचारीका लागि तालिमको आयोजना गरिएको घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराईले जानकारी दिए ।
तालिममा विश्वविद्यालय अनुदान आयोगका आईटी विज्ञ हिक्मत रोकायाकाे नेतृत्वमा ५ जना विज्ञले कम्प्युटर सम्बन्धी जानकारी सहभागिलाई प्रदान गरेका थिए । विश्वविद्यालय अनुदान आयोगको नेहेप(एनइएचइपि) कार्यक्रम अन्तर्गत क्याम्पसका प्राध्यापक एवम् कर्मचारीहरूलाई तालिम प्रदान गर्न थालेको आईटी विज्ञ हिक्मत रोकायाले बताए ।
कार्यक्रममा सुदूरपश्चिमकाे अछामबाट अछाम बहुमुखी क्याम्पस र जनशिक्षा बहुमुखी क्याम्पस, बाजुराबाट बुढीनन्दा क्याम्पस, बैतडीबाट पुर्चौडी बहुमुखी क्याम्पस, कञ्चनपुरबाट कन्चन विद्या मन्दिर र कैलालीका चौमाला बहुमुखी क्याम्पस, राष्ट्रिय कलेज, लम्की बहुमुखी क्याम्पस र घोडाघोडी बहुमुखी क्याम्पस गरी ९ क्याम्पसका प्राध्यापक एवम् प्रशासनिक कर्मचारीकाे सहभागिता रहेकाे थियाे ।
बुधबार घाेडाघाेडी नगरपालिका प्रमुख खडक रावतकाे प्रमुख आतिथ्यमा कार्यक्रमकाे उद्घाटन गरिएकाे थियाे ।













