कैलाली । पछिल्लो समय स्थानीय तहहरुले खोला तथा नदीहरुको मापदण्ड पालना गर्न नसक्दा भौतिक संरचनाहरुमा क्षति हुने जोखिम बढेको छ । कैलालीमा पनि मापदण्ड पालना नगरी मनोमानी तरिकाले नदी दोहन गर्दा पुलहरू धरापमा पर्दै गएका छन् ।
महेन्द्र राजमार्ग लगायतका सडकका पुलको मुनिबाट मापदण्ड विपरीत नदी दोहन गर्ने प्रवृत्तिका कारण जोखिम बढेको छ । यसका साथै धनगढी उपमहानगरपालिका–१७ धुर्जन्ना र गोदावरी नगरपालिका-९ सेहरीको झोलुङ्गे पुलका इट्टाहरूसमेत गायब भएको जिल्ला समन्वय समिति कैलालीले जनाएको छ ।
‘गोदावरी र धनगढीको सीमाना धनचौरीको झोलुङ्गे पुल, सेहरीको पुल, पथरीको पक्की पुल, महेन्द्र राजमार्गको पुल जोखिममा देखियो । पुल मुनिबाट उत्खनन् हुँदैछ । पुलहरू धरापमा छन्,’ जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी विमल जोशीले भने, ‘राज्यको ठूलो लगानी छ । पूर्वाधार संरचनाहरूको संरक्षण भएन ।’ धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले पुलहरूको सुरक्षासमेत गर्न सकेका छैनन् ।
धनगढी उपमहानगरपालिकाको सीमा क्षेत्रका २ वटा झोलुङ्गे पुल र एक पक्की पुल नदी दोहनका कारण धरापमा परेका छन् । गोदावरी नगरपालिका-८ को खुटिया नदीमा बनेको महेन्द्र राजमार्गको पक्की पुलसमेत नदी दोहनका कारण धरापमा परेको छ । नदीमा हुने नियम विपरीतको उत्खननले पुलहरू धरापमा परेका छन् । धनगढीको पथरीमा रहेको पक्की पुल, धनचौरी र सेहरीमा रहेका झोलुङ्गे पुलहरू नदीको दोहनका कारण जोखिममा परेका छन् ।
महेन्द्र राजमार्गको खुटिया नदीको पक्की पुलसमेत नदी दोहनका कारण जोखिममा छ । पुलको उत्तरतिर पाँच सय मिटर र दक्षिणतिर एक हजार मिटर क्षेत्रभित्रबाट नदीजन्य पदार्थ सङ्कलन तथा बिक्री, वितरण गर्न नहुने मापदण्ड रहेको छ । तर, नदीमा हुने मनोमानी दोहनका कारण पुलहरू संकटमा रहेका हुन् । कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले स्थानीय तहहरूले ध्यान नदिएको बताएका छन् । ‘अनुगमन गर्नुपर्ने निकाय अथवा नियन्त्रण गर्नुपर्ने निकायबाट नियन्त्रण नभएको हो की भन्ने छ,’ प्रजिअ मिश्रले भने, ‘पालिकाका प्रमुखहरूलाई सहयोग गर्न, समन्वय गर्न तयार छौ भनेकै हो ।’
धनगढी उपमहानगरपालिका-१७ पथरी र गोदावरी नगरपालिका–९ सेहरीको पुलका इँटाहरूसमेत स्थानीयले घर लगेका छन् । झोलुङ्गे पुलमा प्रयोग भएका इँटा स्थानीयले घर लगेका हुन् ।
मनोमानी हुने नदी दोहनका कारण पुल जोखिममा रहेका बेला स्थानीय तहहरूले सुरक्षा गर्न सकिरहेका छैनन् । स्थानीय तहहरूले पुलहरूको सुरक्षामा ध्यान नदिएको भन्दै जिल्ला समन्वय समितिले परिपत्र गर्ने निर्णय समेत गरेको छ । सूचना अधिकारी जोशीका अनुसार सबै स्थानीय तहहरूलाई परिपत्र गरिसकेको छ । धनचौरीमा इँटासमेत घर लगेको देखिएको छ,। स्थानीय तहहरूले त्योतिर पनि ध्यान दिनुपर्ने जोशीको जोड छ ।












