घोडाघोडी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि कान्तिराज्य लक्ष्मी माविलाई

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिकामा नगर स्तरीय अतिरिक्त क्रियाकलाप तथा १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८१ को उपाधि यो वर्ष पनि कान्ति राज्य लक्ष्मी माध्यमिक विद्यालय पहलमानपुरले हात पारेको छ । वडा नं १० पहलमानपुरमा रहेको कान्ति राज्य लक्ष्मी माविको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा २४ विद्यालयलाई पछि पार्दै उपाधि उसैले हात पारेको हो ।

गत वर्ष सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पनि कान्तिले १९ स्वर्ण, ९ रजत र ५ कास्य गरी जम्मा ३३ पदकका साथ प्रथम उपाधि चुमेको थियो ।

नगर स्तरीय अतिरिक्त क्रियाकलाप तथा खेलकुद समितिको आयोजना पुस १७ गते सुरु भएको प्रतियोगितामा कान्तिले २५ स्वर्ण, ५ रजत र ६ कास्य गरी जम्मा ३९ पदकका साथ हात पारेको हो ।

त्यस्तै राष्ट्रिय माध्यामिक विद्यालय सुखड ६ स्वर्ण, ९ रजत र ६ कास्य गरी जम्मा २१ पदकका साथ दोस्रो हुँदा ४ स्वर्ण, ८ रजत र ९ कास्य गरी जम्मा २१ पदकका साथ घोडाघोडी सामुदायिक माध्यामिक विद्यालय सुखड तृतीय भएको छ ।

छनोट प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरूलाई घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले एक औपचारिक कार्यक्रमका बिच पुरस्कार तथा शिल्ड प्रदान गरेका थिए ।

राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा भलिबल, कबड्डी, शर्टफुट, रिले दौड, हाई जम्प, दौड, ट्रिपल जम्प, ज्यावलिङ थ्रो, तेकान्दो, किराते र बौद्धिक लगायतका खेलहरू सञ्चालन भएको थियो ।

नगर स्तरीय अतिरिक्त क्रियाकलाप तथा खेलकुद समितिका संयोजक धन बहादुर बमको सभाध्यक्षमा भएको समापन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर रावत रहेका थिए । प्रतियोगिताको समापन वडा अध्यक्ष लगायतका जनप्रतिनिधि, स्थानीय अभिभावक, खेल प्रेमी, शिक्षक, विद्यार्थी, प्रहरी, सशस्त्र प्रहरी बल लगायतको सहभागिता रहेको रहेको थियो । कार्यक्रमको सञ्चालन खडक बहादुर कठायतले गरेको थिए ।