सरस्वती आधारभूत विद्यालय २९ औ वर्षमा प्रवेश,  ५९ लाख ६२ हजार बराबरको आय व्यय सार्वजनिक

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका वडा नं ६ मा रहेको श्री सरस्वती आधारभूत विद्यालयको २९ औ वार्षिक उत्सव सम्पन्न भएको छ । आज शुक्रबार विद्यालयको प्राङ्गणमा विभिन्न कार्यक्रमसहित विद्यालयको वार्षिक उत्सव मनाइएको हो ।

वि. सं २०५२ सालमा स्थापना भएको उक्त विद्यालयले पछिल्लो समय  कक्षा १-८ सम्म अध्यापन गराउँदै आएको छ । सुरुवातमा विद्यालय सञ्चालन गर्नका लागि समुदायले सहयोग गरेको र पछिल्लो समयसम्म पनि समुदायले सहयोग गरेका कारण विद्यालयले राम्रो प्रगति गरिरहेको प्रधनाध्यकप केशर बहादुर खड्काले बताए  ।

सरस्वती आधारभूत विद्यालयले वार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुदको आयोजना गरेर विद्यार्थीहरूका  प्रतिभा तथा अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गरेको थियो । त्यसरी उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । त्यस्तै वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो।

विद्यालयले आफ्नो २९ औ वार्षिक उत्सवको अवसरमा वर्ष  भरिमा विद्यालयमा भएका आर्थिक क्रियाकलाप तथा आम्दानी र खर्च समेत प्रस्तुत गरेको थियो । जसमा सरस्वती आधारभूत विद्यालयले आर्थिक वर्ष २०८०/८१ को आयव्यय समेत प्रस्तुत गरेको थियो । विद्यालयका प्रअ केशर बहादुर खड्काले आर्थिक वर्ष २०८०/८१ मा भएको ५९ लाख ६२ हजार ८ सय ३४  रुपैयाँ ९७ पैसा बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।

 जति अभिभावक विद्यालय प्रति चासो दिनुपर्ने हो त्यति अभिभावकहरूले चासो नदिँदा पनि विद्यालयले जति प्रगति गर्नपर्ने हो त्यति गर्न नसकिएको विद्यालयका प्रअ केशर बहादुर खड्काले बताए । उनले  विद्यालय व्यवस्थापन समिति  चयन गर्दाको समयलाई सम्झदै एउटा अध्यक्ष बन्नको लागि २५ जना प्रत्यासी भएका अभिभावक आज विद्यालयको वार्षिक उत्सवमा अध्यक्षका प्रत्यासी मध्ये २/४ जना मात्र सहभागी भएको कुराले आफू दुखी भएको बताए ।

सरस्वती आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बिकको सभापतित्व सुरु भएको २९ औं वार्षिक उत्सव समारोहमा घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावत प्रमुख अतिथि रहेका थिए । त्यस्तै वडा अध्यक्ष, सदस्य , समाजसेवी, अभिभावक, विद्यार्थीको उपस्थितिमा वार्षिक उत्सव सम्पन्न भएको हो ।

Share