कैलाली । पालिकाका अधिकांश सडकहरूको स्तर सुधार गरेको कैलालीको बर्दगोरिया गाउँपालिकाले चालु आर्थिक वर्षका लागि बाँकी सडकहरूको स्तर सुधार तथा मर्मत सम्भारको काम सुरु गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच पालिका अध्यक्ष कर्णबहादुर कुँवरले वडा नम्बर २ बौनिया गाउँ देखि वडा नम्बर ५ जोड्ने करिब २ किलोमिटर सडक स्तर सुधारको काम सुरु भए सँगै यो वर्षका लागि काम अघि बढेको हो ।
‘सडकमा हुने खाल्डा खुल्डीका कारण आवतजावतमा हुने समस्यालाई मध्यनजर गर्दै गाउँ सरकारले सुरुदेखि नै सडक सुधार अभियान थालेको थियो । यसलाई कालोपत्रेको प्रारम्भिक बेस निर्माणका रूपमा समेत हेरिएको छ । हामीले भविष्यमा हुने कालोपत्रेलाई समेत मध्यनजर गरी पानी पिचको काम गरेका छौं,’ अध्यक्ष कुँवरले भने, ‘अहिले पानी पिच भनिए पनि पछिका लागी कालोपत्रेको बेस नै हो । त्यसमा केही तलमाथि त होला नै तर हामीले बेस निर्माण ग¥यौँ भने कम बजेटमै कालोपत्रे गर्न सकिन्छ ।’
पहिलो चरणमा कालोपत्रे अर्थात् सडकको बेस निर्माण गर्ने र आगामी आर्थिक वर्षदेखि कालोपत्रेलाई जोड दिने उनको भनाई छ । यसका लागी पालिकाले यो आर्थिक वर्षमा पालिकाका सबै सडकहरूको स्तर सुधार गर्ने योजनाका साथ काम थालेको छ । पालिकाले आर्थिक वर्ष २०७९/०८० मा २२ किलोमिटर र आर्थिक वर्ष २०८०/०८१ मा ७७ किलोमिटर सडक स्तर सुधार (पानी पिच) गरेको थियो । बाँकी सबै सडकहरू यसै वर्ष सुधार गरी सक्ने र आगामी आर्थिक वर्षबाट कालोपत्रेलाई जोड दिने गाउँपालिकाले जनाएको छ ।
ठेक्का प्रक्रियामार्फत सडक सुधारको काम गर्दा बजेट बढी खर्च हुने तथा प्रभावकारी काम नहुने भन्दै गाउँपालिकाले आफ्नै जनशक्ति तथा स्रोत साधनबाट सडक सुधार अभियान चलाइरहेको छ । शुक्रबाट सडक सुधारको तेस्रो वर्षको काम सुचारु गर्न पालिका अध्यक्षसँगै वडा नम्बर २ का वडाध्यक्ष गोविन्द विक, वडा नम्बर ५ का वडाध्यक्ष भोलेराम चौधरी तथा वडा नम्बर २ का निवर्तमान वडाध्यक्ष भेखु चौधरीको समेत उपस्थिति रहेको थियो ।












