सामाजिक सञ्जालमा भाइरल सचिन परियारको निधन

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल बनेका बालक सचिन परियारको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा विहीबार बिहान करिब १० बजे उनको निधन भएको बताइएको छ ।

स्वास्थ्यमा समस्या आएपछि एक साताअघि सचिनलाई अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन । उनको निधन भएको पारिवारिक स्रोत र अस्पताल स्रोतले पुष्टि गरेको छ । उनी हाल १३ वर्षका थिए ।

सचिनका बाबु तेजेन्द्र परियारले छोराको उपचारमा आर्थिक अभाव भएको बताउँदै आएका थिए । सचिनको शव अस्पतालबाट निकालिएको छैन् । बाबु र परिवारका सदस्यहरु अस्पतालमा छन् ।

मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिकरूपमा कमजोर थिए । पछिल्लो समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेका देखिन्थे । बुवा तेजेन्द्र परियारले छोराको उपचारका लागि उठेको सहयोग दुरुपयोग गरेको आरोप समेत लाग्दै आएको छ ।

सचिनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए । हास्य टेलीश्रृङ्खला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन् ।

Share