कैलाली । कैलालीको घोडाघोडीमा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बुधबार घोडाघोडी नगरपालिका-१० मा रहेको कान्तिराज्य लक्ष्मी माध्यमिक विद्यालय पहलमानपुरको प्राङ्गणमा कार्यक्रममको उद्घाटन गरिएको हो ।
बुधवार “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारा १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड घोडाघोडी नगर स्तरीय अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता-२०८१ सुरु भएको हो । उक्त कार्यक्रमको उद्घाटन नगर प्रमुख खडक बहादुर रावतले गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले विद्यार्थीहरूको शारीरिक, मानसिक र भौतिक विकासका लागि खेलकुदको आवश्यकता रहेको बताएका थिए। हरेक वर्ष नगरपालिकाले यस्ता अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको समेत रावलले बताए ।

खेलकुद र खेलको विकासमा नगरपालिका लागिपरेको धारण समेत नगर प्रमुख रावतले व्यक्त गरे । विगतको कुरालाई स्मरण गर्दै यस क्षेत्रका खेलाडीहरूले राम्रो प्रदर्शन गरेर जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म आफ्नो र पालिकाको नाम राख्न सफल भएको रावत बताए ।
आजदेखि सुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २० गते सम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा नगर भित्रका २४ वटा विद्यालयहरूको सहभागिता रहेको छ ।
प्रतियोगिता भलिबल, कबड्डी, दौड र एथलेटिक्स लगायतका खेलहरूमा ३ सय पदकक लागि १२ सय खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
नगर स्तरीय अतिरिक्त क्रियाकलाप तथा खेलकुद समितिका संयोजक धन बहादुर बमको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रावत रहेका थिए ।प्रतियोगिता उद्घाटन सत्रमा वडा अध्यक्ष लगायतका जनप्रतिनिधि, स्थानीय अभिभावक, खेल प्रेमी, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको रहेको थियो ।














