काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्गसामु १ सय ८३ रनकाे विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८२ रनको आँकडा तयार गर्यो ।
उसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ५७ रनको अविजित अर्धशतकीय पारी खेले । दीपेन्द्रले अन्तिम दुई बलमा लगातार छक्का प्रहार गर्दै सानदार फिनिसिङ गरे । उनले १९.५ ओभरमा प्रतिश जिसीलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । अन्तिम बलमा पनि छक्का प्रहार गरेपछि दीपेन्द्रले २४ बलमा अविजित ५७ रन बनाएका हुन् । उनले ३ चौका र ५ छक्का प्रहार गरे । उनले बाउन्ड्रीबाट मात्रै ४२ रन जोडे ।
यस्तै ब्रान्डनले ३६, बिनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले १४ रनको योगदान दिए
विराटनगरका अनिल खरेलले ३, क्रिस सोले, इस्मत अलाम र बसिर अहमेदले एक/एक विकेट लिए ।
सुदूरपश्चिमले बनाएको यो रन जारी एनपीएलको उच्च हो ।
सुदूरपश्चिमले पहिलो खेल खेल्न लागेको हो भने विराटनगर आफ्नो पहिलो खेलमा वीरगन्जसँग पराजित भएको थियो ।












