कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यतिबेला देश बाटो बिराएर चौबाटोमा उभिएको बालकको जस्तो अवस्थामा रहेको टिप्पणी गरेका छन् । शुक्रबार कैलालीको घोडाघोडी नगरपालिका-२ साडेपानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले सो कुरा बताएका हुन् ।
अध्यक्ष लिङ्देनले वर्तमान परिवेशमा देश सङ्कटको भूमरीमा फसी रहेको र निदाई रहेको अवस्थालाई जागृत गराउनको लागि दबाब सिर्जना गर्ने बेला आएको समेत बताए । ‘आज देशमा जुन किसिमको मौनता जुन किसिमको मुर्दा शान्ति आज हामीले बेहोरी राखेका छौँ,’ उनले भने, त्यो हामी सबै र देश तथा हाम्रा भावी सन्ततिको समेत भविष्यका लागि खतरानाक छ । हामीले अब यसबाट बिउँझिएर देशमा एउटा दबाब सिर्जना गर्ने बेला आएको छ । अब हामीले एउटा निर्णयमा पुग्ने बेला भयो । देश चौबाटोमा बाटो बिराएर उभिएको बालकको जस्तो अवस्थामा छ । कता जान्छ, ठेगान छैन् । त्यसकारण यसलाई अब हामीले जाग्रत् भएर सचेत भएर होसियारीपूर्वक देशलाई एउटा दिशा दिनुपर्ने छ र त्यो सकारात्म, उन्नति र प्रगतिको दिशातिर लैजान हामीले प्रयत्न गर्ने बेला आएको छ । त्यसको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक अन्य कुनै पार्टीले गर्न सक्दैन् ।’
उनले नेपाली जनता सुध्रिए देश सुध्रिने र नेपाली जनता बिग्रिए देश पनि बिग्रिने कुरा उल्लेख गर्दै यो देशलाई सङ्कटको भूमरीमा फसाउने मुख्य जिम्मेवार पार्टी नै एमाले, कांग्रेस र माओवादी रहेको टिप्पणी समेत गरेका छन् । ‘के यो देशलाई सङ्कटको भुमरीबाट मुक्त गर्न एमाले, कांगे्रस, माओवादीले कुनै पनि हालतमा सक्दैनन् । देशलाई यो भुमरीमा फसाउने मुख्य जिम्मेवार पार्टी नै यिनीहरु हुन्,’ अध्यक्ष लिङ्देनले भने, ‘जसले यो देशलाई सङ्कटको भुमरीमा फसाए, जसले यो देशलाई भ्रष्टाचारको दलदलमा फसाए, जसले विदेशीहरुलाई यो देशमा आमन्त्रण गरे, उनीहरुले यो देशलाई निकास दिन्छ ?’
जुन पार्टीहरुले यो देशलाई नर्कमा पु¥याए अझ त्यही पार्टी, त्यहीँ व्यक्तिहरुले देशलाई बनाउँछन्, देशलाई निकास दिन्छन् भनेर आशा मानेर बस्नु साँढेको टाङमुनि बाल्टी थाप्नु जस्तै मात्र भएको टिप्पणी पनि राप्रपा अध्यक्ष लिङ्देनले गरे ।
शुक्रबार राप्रपा घोडाघोडी नगर कार्य समितिले आयोजना गरेको आम सभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष लिङ्देन सहित उपाध्यक्ष विक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका दर्जनौ नेता कैलालीको साडेपानीमा पुगेका थिए ।













