सत्तारुढ दल एमालेको आम सभा, सडकपेटी फोहोर गरेको भन्दै  काठमाडौं महानगरद्वारा एक लाख जरिवाना

कैलाली । शुक्रवार काठमाडौंको दरबारमार्गमा सत्तारूढ दल नेकपा एमालेले आम सभा गर्यो । विभिन्न ठाउँबाट निस्किएको र्‍याली दरबारमार्गमा पुगेर सभामा परिणत भएको थियो । नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा आयोजित सभालाई सम्बोधन गर्न पुगे पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उनका साथै अन्य नेताहरूको पनि बाक्लो उपस्थिति रह्यो । 

एमालेसहित विभिन्न समूहको प्रदर्शनका कारण शुक्रबार उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो । काठमाडौंको कोटेश्वरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले प्रदर्शन गर्दा माइतीघरमा सहकारी पीडितले पनि आन्दोलन गरे । ठाउँ ठाउँको आन्दोलन र सभाका कारण सडकमा हिँड्नेले भने निकै सास्ती खेप्नु पर्यो । जसले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन भद्रगोल बन्यो । दरबारमार्ग क्षेत्रमा त गाडी प्रवेश गर्न समेत विशेष गरिएको थियो ।

सत्तामा आफै रहेको एमालेले राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले यो जागरण सभा आयोजना गरिएको बताई रहेको थियो । तर, आम मानिसहरुले भने सत्तामा रहेर यस्ता सभा गर्नु एमालेको दम्ब बाहेक अरु केही नभएको बताएका छन् ।

यता काठमाडौं महानगरले त दरबारमार्ग फोहोर गरेको भन्दै नेकपा एमालेलाई १ लाख जरिवाना नै तोकेको छ । शुक्रबार नगर प्रहरी प्रमुख लिलाराज गाछाले एक विज्ञप्ती जारी गर्दै जरिवाना गरिएको जानकारी गराएका छन् । दरवारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहर गरी वातावरण प्रदुषण गरेको भन्दै महानगरले जरिवाना तोकेको हो । सडक पेटी फोहोर गरेकाले फोहरमैले व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरको आर्थिक ऐन, २०८१ बमोजिम १ लाख जरिवान गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तर, उता एमालेका महासचिव शंकर पोखरेलले भने बालेनले फगत स्टनबाजी गरेको टिप्पणी गरेका छन् । आफूहरुले सडक पेटीमा सफा गरेको र महानगरलाई सङ्कलित फोहोर उठाउन गाडी पठाई दिनु भन्दा गाडी पठाउनुको साटो उल्टै जरीवाना गरेर फगत स्टनबाजी गरेको टिप्पणी गरेका हुन् । महानगरको विज्ञप्ती सार्वजनिक भए लगत्तै सामाजिक सञ्जाल फेसबुकमा उनले सो कुरा उल्लेख गरेका हुन् ।

Share