काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
म्याद थपका लागि बुधबार जिल्ला अदालतमा उपस्थित गराएकोमा ५ दिन हिरासतमा राख्न अनुमति प्राप्त भएको नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब रुपैयाँ लगानी गरेको भन्दै भिडियो कलमार्फत कसैले देखाएको अपुष्ट प्रमाण सार्वजनिक गरेपछि प्रसाईं मङ्गलबार पक्राउ परेका हुन् । उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंलाई भक्तपुरमा रहेको निवासबाट पक्राउ गरेको थियो । उनकै निवासबाट पक्राउ परेका अरू २५ जनामध्ये १५ जनालाई प्रहरीले छाडेको छ । अरू ९ जनामाथि अभद्र व्यवहारको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रसाईंमाथि अनुसन्धान गर्न सीआईबीले साइबर ब्युरोमा पठाएको हो ।













