कञ्चनपुर । आर्थिक वर्ष सुरु भए यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा अनियमितता सम्बन्धी उजुरीको चाङ लाग्दै गएको छ । सङ्घ, प्रदेश र स्थानीय तहसँग सम्बन्धी उजुरीको सङ्ख्या दैनिक रुपमा दर्ता हुने गरेको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको साउन महिनामा मात्रै आर्थिक अनियमितता विरुद्ध १ सय १४ उजुरी दर्ता भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा स्थानीय तहसँग सम्बन्धित उजुरीको सङ्ख्या सबैभन्दा बढी दर्ता हुने गरेको पाइएको हो । कार्यालयमा भदौ ३१ गतेसम्म थप ८० वटा उजुरी दर्ता भएका छन् । विभिन्न माध्यमको प्रयोग गरेर अख्तियारमा उजुरी दर्ता हुने क्रम बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी चेतराज भट्टले बताएका छन् ।
सङ्घ, प्रदेश र स्थानीय तहसँग सम्बधित उजुरी ९ वटै जिल्लामा आउने गरेको उनले बताएका हुन् । विभिन्न विकास निर्माणका काममा हुने अनियमितता, विद्यालय, वन, खानेपानी लगायत काममा अनियमितता हुने गरेको भन्दै उजुरीकर्ताले अख्तियारमा निवेदन दिने गरेका छन् । प्राप्त उजुरीमाथि थप अध्ययन र कामकारबाही सँग-सँगै अघि बढाउने काम भइरहेको कार्यालयले जनाएको छ । सार्वजनिक पद धारणा गरेर पदको दुरुपयोग गर्दै अनियमितता हुने गरेको विषयमा पनि अख्तियारमा उजुरी पर्ने गरेको छ ।













