सुदूरपश्चिममा एउटै आर्थिक वर्षका लागि दोस्रो पटक सभामा बजेट पेस हुँदै, प्रतिपक्षीद्वारा विरोध

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेश सभामा दोस्रो पटक बजेट  पेश गर्दैछ । पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सरकारले यसअघि असार १ गते पहिलो पटक बजेट पेश गरेको थियो । समाजवादी, एमाले र माओवादी गठबन्धन सरकारले पेश गरेको बजेट केन्द्रमा गठबन्धन फेरिएसँगै एमालेले सरकार छोड्दा बजेट पास हुन सकेको थिएन

नेकपा एमालेले सरकार छोडेपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले अध्यादेश मार्फत बजेट पारित गर्ने खोजेका थिए तर प्रदेश प्रमुखको साथ नपाउँदा अध्यादेश ल्याउने विकल्प समेत बन्द भएको थियो । त्यसपछि साउन १८ गते सोडारीले बहुमत नपुग्ने भएकाले मुख्यमन्त्रीबाट राजिनामा दिएका थिए । २०८१ बैशाख ६ गते एमाले, माओवादी र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका सोडारीले बजेट पारित गर्न नपाउँदै सत्ताबाट हात धुनु परेको थियो ।

२०७९ माघ २६ गते पहिलो पटक मुख्यमन्त्री बनेका कमलबहादुर शाह २०८१ साउन २० गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हुन् । कांग्रेस एमाले गठबन्धनबाट शाहले दोहोरिएर मुख्यमन्त्री हुने अवसर पाएका हुन् ।

सुशासन र पारदर्शिताको नारा दिएर मुख्यमन्त्री बनेका शाह नेतृत्वको सरकारले चालु आर्थिक वर्षको दुई महिना बितेपछि सोमवार बजेट प्रस्तुत गर्न लागेको  छ । तर बजेट प्रस्तुत नगर्दै प्रमुख प्रतिपक्षी दल माओवादी र समाजवादीले विरोध जनाएका छन् । उनीहरूले एउटै आर्थिक वर्षका लागि दुई पटक संसद्मा बजेट पेश गर्नु गैरसंवैधानिक कदम भएको भन्दै विरोध जनाएका हुन् ।

Share