कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले लागू गरेको नगर शिक्षा ऐन २०७७ तथा नगर शिक्षा नियमावली २०८० प्रति असहमति जनाउँदै माओवादी केन्द्र घोडाघोडी नगर कमिटीले आज नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
घोडाघोडी नगरपालिकाले नगर शिक्षा ऐन २०७७ तथा नगर शिक्षा नियमावली २०८० को परिच्छेद ९, नियम ५० को उपनियम ३ बमोजिम प्रधानाध्यापक नियुक्ति गरेको छ । सामुदायिक विद्यालयको प्रअ छनोटका लागि ऐन र नियमावलीलाई टेकेर २७ जना प्रअको नियुक्ति गरि सकेको छ भने २२ ओटा विद्यालयका लागि हाल विज्ञापन खुला गरेको छ । सोही विषयलाई लिएर माओवादी केन्द्र नगर कमिटीले असहमति जनाएको छ ।
प्रअ छनोट गर्दा चरम राजनीतिककरण भएको र राजनीतिक पार्टीका आधारमा प्रअको नियुक्ति गरिएको आरोप लगाउँदै माओवादी केन्द्रले आज नगर प्रमुख खडक बहादुर रावत समक्ष ज्ञापन पत्र बुझाएको हो । प्रमुख रावत अनुपस्थित भएकाले कार्यवाहक प्रशासकीय प्रमुख समक्ष ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र पछि नगरपालिकाको सभा हलमा पत्रकार सम्मेलन गर्दै प्रअ छनोट प्रक्रियामा थुप्रै किसिमका त्रुटिहरू गरेको र उक्त कुराहरू आफ्नो पार्टीलाई मान्य नहुने नगर कमिटी अध्यक्ष खगेन्द्र हमालले बताएका थिए । उनले शिक्षा ऐन बनाउँदा पालिकाले थुप्रै बहसहरू गरेको, सुझावहरू पेश गरिए पनि अन्तिममा कुनै कुरा नसमेटिएको बताए । विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया, प्र.अ. छनोट प्रकिया र करार शिक्षक नियुक्ति प्रक्रियाको विषयले अहिले पालिका भरिका विद्यालयहरूमा पठनपाठन बिग्रिएको समेत पत्रकार सम्मेलनमा बताएका छन् ।
‘शिक्षामा केही सुधार होला भनेर हाम्रो पार्टीको तर्फबाट हामीले शिक्षा ऐनसँग बाँझिएका केही बुँदाहरूमा समर्थन गर्यौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘तर अहिले आउँदा शिक्षामा पुरै राजनीतिकरण भएको हामीले थुप्रै प्रमाणहरू भेटाएका छौँ । प्रअ छनोट प्रक्रियामा व्यक्तिलाई विद्यालय तोकेर उम्मेदवारी दर्ता गर्न लगाइयो, कतिपय ठाउँमा भ्याकेन्सी परेको ठाउँमा परीक्षा दिनबाट वञ्चित गरियो । विज्ञ छनोट गर्दा एउटा पार्टीमा आस्था राख्ने विज्ञ राखियो ।’
पहिलो चरणको प्रधानाध्यपक छनोटपछि नगर प्रवक्ता तथा वडा नं.१ का अध्यक्ष घनश्याम ओझाले एक कार्यक्रममा आफूहरूले कांग्रेस निकट नेपाल शिक्षक सङ्घका १७ जनालाई प्रअ बनाउन सफल रहेको अभिव्यक्ति दिएका थिए । सोही विषयमा समेत माओवादी केन्द्र नगर कमिटीको गम्भिर ध्यानाकर्षण भएको बताएको छ । ‘प्र.अ. छनोट पछि नगर प्रवक्ता, शिक्षा समिति सदस्य तथा वडा नं. १ का वडा अध्यक्ष घनश्याम ओझा र शिक्षा समिति सदस्य बम बहादुर सिंहले खुलेआम १७ जना कांग्रेस निकट शिक्षकलाई प्र.अ. बनाउन सफल भयौं भन्ने मन्तव्य राख्नु भयो यसले गर्दा हाम्रो पाटीको गम्भिर ध्यानाकर्षण भएको छ,’ सम्मेलनमा अध्यक्ष हमालले भने, ‘हामीले कुनै दल विशेषको प्रअ बनाउन खोजेका हैनौं । यसले गर्दा शिक्षामा पुरै राजनितिकरण भएको यथेष्ट प्रमाणले नगर शिक्षा ऐनका केही बुँदामा नगरपालिकासँग हाम्रो पार्टीले गरेको सहमतिलाई पुनरबिचार गर्ने निर्णय गरेकाछौँ ।’
माओवादी केन्द्रले पालिकाले छनोट गरि काजमा पठाएका प्रअहरुलाई समेत फिर्ता बोलाउनु पर्ने माग राखेको छ । साथै प्रअ छनोट प्रक्रिया र करार शिक्षक छनोटको अधिकार विद्यालय व्यवस्थापन समितिलाई दिनुपर्ने, प्रअ छनोट प्रक्रिया स्थगित गर्नुपर्ने, नगर शिक्षा ऐनमा सङ्घीय शिक्षा ऐन, नियमसँग बाँझिएका बुँदा सच्याउनु पर्ने, सर्वोच्च अदालत र उच्च अदालतमा यसै विषयमा मुद्दा विचाराधीन अवस्थामा रहेकोले नगरपालिकाले त्यसको टुङ्गो नलागे सम्म सबै प्रक्रिया स्थगित गर्नुपर्ने र स्थानीय भाषा (पाठ्यक्रम) शिक्षण गर्न सम्बन्धित भाषामा विज्ञ शिक्षक नियुक्ति गर्नुपर्ने लगायतका ६ बुँदे माग राखेको छ ।
माओवादी केन्द्र नगर कमिटीले आफ्ना यी ६ बुँदे मागहरु आगामी ३ दिनभित्र सम्वोधन नभए आन्दोलन गर्ने समेत चेतावनी दिएको छ ।













