स्थानीयको विरोधपछि अन्ततः निर्णय खारेज गर्दै विद्यालयको अधिकार पहिलेकै रुपमा कायम गरिदिन पालिकालाई सिफारिस

भदौ १८ गते वडाको निर्णय विरुद्ध आन्दोलनमा स्थानीय

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ३ मा रहेको समैजी आधारभूत विद्यालय धुसरको सम्पूर्ण विवरण गोप्य रूपमै वडा नं. २ मा सारिएको कुरा झण्डै तीन महिनापछि बाहिरिएको थियो । उक्त कुरा थाहा पाएपछि स्थानीयले विरोध प्रदर्शन गर्दै तुरुन्त निर्णय सच्याउनु पर्ने माग गरेका थिए । स्थानीयको विरोध प्रदर्शनपछि बुधबार वडाले निर्णय गरेर पुरानै अवस्थामा कायम गरिदिन भन्दै पालिकालाई सिफारिस गर्ने निर्णय गरेको छ । 

गत असार ६ गते वडा कार्य समितिका पदाधिकारीहरूको वडा अध्यक्ष कृष्ण प्रसाद गौतमको अध्यक्षतामा बसेको बैठकले उक्त विद्यालयको विवरण ३ नम्बरबाट हटाउन नगरपालिकालाई सिफारिस गरिएको निर्णय प्राप्त हुना साथ स्थानीयले आन्दोलन समेत गरेका थिए । भदौ १८ गते मङ्गलबारका दिन विगतदेखि आफूहरूले संरक्षण गर्दै आएको विद्यालय आज आएर एक्कासी भित्र भित्रै आफू खुसी अर्को वडालाई जिम्मा लगाएको कुरा कदापी पनि स्वीकार्य नहुने भन्दै स्थानीयले वडा कार्यालय घेराउ गर्नुका साथै तालाबन्दी समेत गरेका थिए ।

स्थानीयको चर्को विरोध र दबाबका बिच बुधबार वडा पालिका सदस्यहरू र स्थानीय बसेर पालिकालाई निर्णय खारेज गर्न लगाउने सहमति सहित निर्णय गरिएको छ । मङ्गलबारका दिन स्थानीयवहरूले प्रदर्शन गर्दै वडा कार्यालयमा ताला समेत लगाएका थिए । अन्तिम अवस्थामा आएर प्रहरीले आफूहरूले जनप्रतिनिधिसँग बसेर छलफल गर्ने वातावरण मिलाई दिने प्रतिवद्धता जनाएपछि ताला खुलेको थियो । उक्त दिन वडा अध्यक्ष कृष्ण प्रसाद गौतम भने वडा कार्यालयमा उपस्थित थिएनन् । स्थानीयको माग थियो अध्यक्षले आएर जवाफ दिनुपर्ने । तर, अध्यक्ष गौतम भने आफ्नो बाहिर काम परेको भन्दै वडा सदस्य रमेश चौधरीलाई कार्यवाहकको जिम्मा दिएर अनुपस्थित थिए ।

स्थानीयहरूले आफूहरूले लगाएको ताला तत्काल नखोल्ने बताएका थिए । उनीहरूले जबसम्म वडाले उक्त निर्णय फिर्ता लिएर विद्यालयको विवरण पुरानै अवस्थामा कायम गर्दैन तब सम्म ताला लागि रहने अडान राखेका थिए । अन्तिम समयमा प्रहरीले मध्यस्थताको भूमिका निर्वाह गर्दै स्थिति साम्य पारेर ताला खोलेको थियो । ताला खोले पनि भदौ १९ गते बुधबार वडाले जवाफ दिँदै निर्णय जसरी गरेको हो त्यसरी सच्याउने प्रतिवद्धता आफूहरूसँग नगरे पुनः आन्दोलनका साथ वडा कार्यालयमा ताला लगाउने स्थानीयले चेतावनी दिएका थिए ।

बुधबार वडा पालिकामा जनप्रतिनिधि र स्थानीयबिच छलफल गर्न बैठक बोलाइयो तर उक्त बैठकमा समेत वडा अध्यक्ष गौतम उपस्थित भएनन् । वडा अध्यक्ष उपस्थित नभएपछि अन्तिममा वडा सदस्य विजय चौधरी र रमेश चौधरीले सिमाना हेर्ने र विद्यालयको विवरण फिर्ता गर्ने जिम्मा आफूले लिने प्रतिवद्धता जनाएपछि हाललाई कुनै आन्दोलन नगर्ने र ताला नलगाउने स्थानीयले बताएका छन् ।

उक्त बैठकले असार ६ गते वडाले गरेको निर्णय खारेज गर्दै समैजी आधारभूत विद्यालय वडा नंं.३ जुरपानी मै कायम गरिदिन नगरपालिकालाई सिफारिस गर्ने निर्णय समेत गरेको छ । तर निर्णय नसच्याए वडा कार्यालयमा ताला लगाएर राख्ने स्थानीयको भनाई थियो । बुधबार निर्णय भएसँगै तत्काललाई आन्दोलन र ताला आफूहरूले नलगाउने स्थानीय सञ्जय चौधरीले जानकारी दिए ।

 

वडा सदस्य र स्थानीय बसेर गरेको यो निर्णय हेर्नुहोस् । जहाँ वडा अध्यक्ष कृष्ण प्रसाद गौतम भने उपस्थित थिएनन् । 

कसरी थाहा पाए स्थानीयले  विद्यालयको विवरण अर्को वडामा सारिएको कुरा ?

घोडाघोडी नगरपालिकाले गत साउन ३ गते नगर शिक्षा ऐन २०७७ तथा नगर शिक्षा नियमावली २०८० को परिच्छेद ९, नियम ५० को उपनियम ३ वमोजिम सामुदायिक विद्यालयहरुमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिको लागि नगरभित्र रहेका ५० मध्ये २७ वटा सामुदायिक विद्यालयका लागि विज्ञापन खुला गर्यो । जसमा ३३ जनाको आवेदन परेको थियो । भदौ ५ गते विद्यालय विकास प्रस्ताव र प्रयोगात्मकबाट छनोट गरि भदौ ७ गते छनोट भएका उम्मेदवारको सूची प्रकाशन गर्यो । जसमा कल्पना पाठक पनि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यपकमा सफल रहिन । उनी समैजी आधारभूत विद्यालयको प्रअ का लागि छनोट भएकी थिइन् ।

त्यसपछि पाठकलाई नगरपालिकाले भदौ १४ गते नगर शिक्षा ऐन २०७३ तथा नगर शिक्षा नियमावली २०८० (संसोधन सहित) को नियम २० को उपनियम २० अनुसार गठित प्रधानाध्यापक सिफारिस समितिको सिफारिस अनुसार उक्त नियमावलीको नियम ५० को उपनियम ८ बमोजिम समैजी आधारभूत विद्यालय घोडाघोडी ३ जुरपानीमा प्रधानाध्यापक पदमा नियुक्ति गरिएको थियो ।

पालिकाले विद्यालयको विवरण अर्को वडालाई दिएको कुरा विद्यालय व्यवस्थापन समितिलाई समेत जानकारी दिएको थिएन् । 

प्रधानाध्यापक नियुक्तिमा पालिकाका दुई फरक–फरक पत्र

कल्पना पाठकलाई उक्त समैजी आविमा नियुक्त गरिएको विषयमा नगरपालिकाले आफै अपरिपक्त तरिकाले नियुक्ति दिएको पाइएको छ । जसमा एउटा नियुक्ति पत्रमा श्री समैजी आधारभूत विद्यालय वडा नं.२ जुरपानी भनेर लेखिएको छ भने सोही समयमा अर्को नियुक्त पत्रमा श्री समैजी आधारभूत विद्यालय वडा नं.३ जुरपानी भनेर लेखिएको छ ।

फरक फरक वडा नम्बर राखेर एउटै व्यक्तिलाई दुई ओटा नियुक्ति पत्र दिएपछि स्थानीयले आक्रोस समेत व्यक्त गरेका थिए ।

Share