कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा एउटा वडामा रहेको सामुदायिक विद्यालयको सम्पूर्ण विवरण गोप्य रूपमै अर्को वडामा सारिएको पाइएको छ । वडा पालिकाका जनप्रतिनिधिद्वारा उक्त कार्य भएको घटना झण्डै तीन महिनापछि बाहिर आएको हो ।
जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ३ मा अवस्थित समैजी आधारभूत विद्यालय धुसरको विवरण वडा नं. २ को कार्यालयलाई जिम्मा दिएको छ । गत असार ६ गते वडा कार्य समितिका पदाधिकारीहरूको वडा अध्यक्ष कृष्ण प्रसाद गौतमको अध्यक्षतामा बसेको बैठकले उक्त विद्यालयको विवरण ३ नम्बरबाट हटाउन नगरपालिकालाई सिफारिस गरिएको निर्णय प्राप्त भएको छ । विगतदेखि वडा नं ३ मै हर विवरण रहेको समैजीको अन्ततः सबै विवरण २ लाई जिम्मा दिएपछि स्थानीयहरूले विरोध प्रदर्शन गरेको छन् । अर्को वडालाई विवरण जिम्मा दिएपनि पालिकाले हालसम्म गोप्य रूपमा नै राखेको भेटिएको छ ।
वडा पालिकाले निर्णय गरेर नगरलाई पठाएको सिफारिस

वडाले नगरपालिकालाई सिफारिस गरेर उक्त विवरण ३ नम्बरबाट हटाई सकेको भएपनि उक्त कुरा विद्यालय व्यवस्थापन समितिलाई समेत जानकारी नदिएको स्थानीयहरूले जानकारी दिएका छन् । मङ्गलबार जुरपानीका स्थानीयले वडा कार्यालय घेराउ गरेका थिए । ‘हाम्रो ठाउँमा भएको विद्यालय व्यवस्थापन समितिलाई समेत जानकारी नदिई यिनीहरूले अरुलाई दिए,’ सोही वडा कार्यालय घेराउ गर्न पुगेका एक स्थानीयले भने,’ ‘हामी यो कदापि पनि मान्दैनौ यदि वडाले यो नसच्याए आगामी दिनमा वडा कार्यालय चल्न दिँदैनौँ ।’
विद्यालयका भौतिक संरचना वडा नं. २ को भूगोलमा बनेका र सोही अनुसार उक्त वडा को नै विवरण समावेश गरिनु पर्ने भन्दै वडाले नगरलाई सिफारिस गरेको थियो । विगतमा पनि यस विषयमा आवाज उठी रहेको भएपनि स्थानीयले त्यो गर्न दिएका थिएनन् । विद्यालयका संरचना २ मा भएपनि उक्त विद्यालयमा पढ्ने सबै विद्यार्थी ३ कै रहका छन् । उक्त विद्यालय आफूहरूले पसिना बगाएर बनाएका कारण २ लाई हस्तान्तरण गर्न नहुने स्थानीयको माग रहेको छ । विगतदेखि ३ लेखिँदै आएको ठाउँमा अहिले २ लेख्न नदिने अडान स्थानीयको रहेको छ । सडकले सिमाना छुट्ट्याएको छ । सडकको. छेवैमा विद्यालयका संरचना बनेका छन् । विगतदेखि भएको कुरामा अहिलेका अध्यक्षको के को टाउको दुखाईको विषय भन्दै स्थानीयले विरोध जनाई रहेका छन् ।
यसरी थाहा नै नदिई सम्पूर्ण विवरण अर्को वडामा सारिनु भनेको बेच्नु सरह नै भएको स्थानीयको भनाइ छ । यसको स्पष्टिकरण वडा अध्यक्ष कृष्ण प्रसाद गौतमले दिनु पर्ने र जसरी अर्को वडालाई दिइएको हो त्यसरी नै फिर्ता गर्नु पर्ने र नगरे वडा कार्यालयमा ताला लगाउने स्थानीयले चेतावनी समेत दिएका छन् ।
कसरी थाहा भयो विद्यालयको विवरण अर्को वडामा सारिएको ?
घोडाघोडी नगरपालिकाले गत साउन ३ गते नगर शिक्षा ऐन २०७७ तथा नगर शिक्षा नियमावली २०८० को परिच्छेद ९, नियम ५० को उपनियम ३ बमोजिम सामुदायिक विद्यालयहरूमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिको लागि नगरभित्र रहेका ५० मध्ये २७ वटा सामुदायिक विद्यालयका लागि विज्ञापन खुला गर्यो । जसमा ३३ जनाको आवेदन परेको थियो । भदौ ५ गते विद्यालय विकास प्रस्ताव र प्रयोगात्मकबाट छनोट गरि भदौ ७ गते छनोट भएका उम्मेदवारको सूची प्रकाशन गर्यो । जसमा कल्पना पाठक पनि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यपकमा सफल रहिन । उनी समैजी आधारभूत विद्यालयको प्रअ का लागि छनोट भएकी थिइन् ।
त्यसपछि पाठकलाई नगरपालिकाले भदौ १४ गते नगर शिक्षा ऐन २०७३ तथा नगर शिक्षा नियमावली २०८० (संसोधन सहित) को नियम २० को उपनियम २० अनुसार गठित प्रधानाध्यापक सिफारिस समितिको सिफारिस अनुसार उक्त नियमावलीको नियम ५० को उपनियम ८ बमोजिम समैजी आधारभूत विद्यालय घोडाघोडी ३ जुरपानीमा प्रधानाध्यापक पदमा नियुक्ति गरिएको थियो । त्यस पछि मात्रै वास्तविक कुरा बाहिरिएकाे हाे । यतिसम्म कि पालिकाले विद्यालयको विवरण अर्को वडालाई दिएको कुरा विद्यालय व्यवस्थापन समितिलाई समेत जानकारी दिएको थिएन् ।
प्रधानाध्यापक नियुक्तिमा पालिकाका दुई फरक–फरक पत्र
कल्पना पाठकलाई उक्त समैजी आविमा नियुक्त गरिएको विषयमा नगरपालिकाले आफै अपरिपक्त तरिकाले नियुक्ति दिएको पाइएको छ । जसमा एउटा नियुक्ति पत्रमा श्री समैजी आधारभूत विद्यालय वडा नं.२ जुरपानी भनेर लेखिएको छ भने सोही समयमा अर्को नियुक्त पत्रमा श्री समैजी आधारभूत विद्यालय वडा नं.३ जुरपानी भनेर लेखिएको छ । एउटै व्यक्तिलाई दुई ओटा नियुक्ति पत्र त्यहि पनि फरक–फरक वडा नं. राखेर नगरले आफ्नो गल्ती दर्शाएको थियो ।
नगरले दिएका यी दुई नियुक्ति पत्र हेर्नुहोस :

स्थानीयद्धारा वडा कार्यालय घेराउ
वडा अध्यक्ष कृष्ण प्रसाद गौतमले आफू खुसी विद्यालयको विवरण नै परिवर्तन गरेको भन्दै जुरपानीका स्थानीयहरूले मङ्गलबार ३ नं. को वडा कार्यालय घेराउ तथा तालाबन्दी गरेका थिए । आफूहरुले मानो मुरी गर्दै स्थापना गरेको विद्यालय अहिले आएर वडा नंं २ लाई जिम्मा लगाएको भन्दै स्थानीय आक्रोसित बनेका थिए । ‘स्थापनाकालदेखि नै हामीले मानो मुरी गरेर सञ्चालन गरेको विद्यालय हो सबै बच्चाहरु वडा नं.३ कै छन् । जानकारी नै नदिई वडा अध्यक्षले आफू खुसी अर्को वडालाई जिम्मा दिने ? यो हामी कदापी मान्दैनौ,’ जुरपानीका भल्मन्सा राज कुमार चौधरीले भने, ‘अब हाम्रो माग भनेको ३ मा नै विद्यालय हुनुपर्छ भन्ने हो यदि भएन भने आगामी दिनमा वडा कार्यालयमा ताला लगाउने हो । वडा अध्यक्षले जवाफ दिनु पर्यो किन यस्तो गरेको भनेर । लिखित रुपमा दिनु पर्यो कि हामी जसरी पनि पहिलेकै अवस्थामा विद्यालयको विवरण राख्छौं भनेर हैन भने आगामी दिनमा वडा कार्यालयमा ताला लगाएर माग पुरा नभएसम्म खोल्दैनौं ।’

स्थानीयले मङ्गलबार वडा कार्यालयमा आएर नारा लगाउँदै ताला लगाएको भएपनि अन्तिम समयमा प्रहरीले पालिका अध्यक्ष र वडा अध्यक्षसँग वार्ता गर्ने वातावरण मिलाइ दिने सर्तमा ताला खोलिएको थियो । स्थानीयले आन्दोलन गरेपनि त्यहाँ वडा अध्यक्ष गौतम भने थिएनन् । उनी बाहिर गएको भन्दै वडा सदस्य रमेश चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको थियो । स्थानीयले रमेश चौधरीले अहिले नै लिखित रुपमा फिर्ता गर्छौं भन्ने जवाफ दिनु पर्ने माग चर्को रुपमा राखेका थिए । तर कार्यवाहक मात्रै भएकाले सबै कुराको जवाफ दिँदा उक्त कुरा पालिकाले नमानि दिए समस्या हुने कुरा स्वयम् राज कुमार चौधरी र प्रहरीले बताएको थियो । त्यसपछि अन्तिम समयमा आएर स्थानीयले आफ्नो अडानबाट पछि हट्दै ताला खोलेका थिए ।













