बाजुराको गौमुलेमा बैङ्क तोडफोड, एकैरात ४ पसल र सहकारीमा चोरी

बाजुरा । बाजुरा जिल्लाको गौमुल गाउँपालिकाको घटमुना बजारमा रहेको कुमारी बैङ्कको शाखा कार्यालयमा गएराति अज्ञात व्यक्तिद्वारा तोडफोड गरिएको छ । गएराती २ बजेको समयमा एक जना व्यक्ति बैङ्कमा प्रवेश गरेको र कम्प्युटर चोरी गरेको शाखाका प्रबन्धक शीतल रावतले जानकारी दिएका छन् ।

उनका अनुसार एक जना व्यक्ति कार्यालयको मुल ढोका तोडफोड गरी बैङ्कमा प्रवेश गरेको र एउटा कम्प्युटर चोरी गरी लगेको सिसिटिभीमा देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराले गए राति नै घटमुना बजारमा रहेका चार वटा पसलमा पनि चोरी भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बैङ्कमा एक जना मात्र सुरक्षाकर्मी रहेको र उनको राति ८ बजेसम्म मात्रै ड्युटी सकिएको जानकारी प्राप्त भएको थियो । सुरक्षाकर्मी नभएको समयमा अज्ञात व्यक्तिले बैङ्कको मूल ढोका तोडफोड गरी बैङ्कभित्र प्रवेश गरेको देखिएको छ ।

गएराति नै गौमुल गाउँपालिका–६ मा रहेको सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाबाट रु ५० हजार समेत चोरी भएको सो सहकारीका अध्यक्ष श्याम रोकायाले जानकारी दिएका छन् ।

Share