ढोरपाटन सिकार आरक्षको सार्वजनिक जमिन अतिक्रमण, सरोकारवाला पक्ष अझै बेखबर

म्याग्दी । पूर्वी रुकुम, बागलुङ र म्याग्दी गरि तीन जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको करिब २ सय हेक्टर सार्वजनिक जमिन अतिक्रमण भएको पाइएको छ । १ हजार ३ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्ने गर्दछ । 

आरक्षको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा १ सय ८५ हेक्टर जमिन अतिक्रमण भएको उल्लेख गरिएको छ । जग्गा धनी पुर्जा भएकै घर छेउमा जग्गा अतिक्रमण गरेर आफ्नो कम्पाउन्डमा भित्र्याउने क्रम बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

आरक्षको जग्गा वर्षेनी अतिक्रमित भए पनि सरोकारवाला निकायबाट यसलाई रोक्ने प्रयास हालसम्म कुनै पनि भएको छैन । आरक्षका संरक्षण अधिकृत मण्डिप पँगेनीले ३४ स्थानमा तीन सय ११ घरधुरीले १ सय ८५ हेक्टर क्षेत्रफल जमिन अतिक्रमण गरेका बताए । 

‘सिकार आरक्षमा अतिक्रमण मुख्य चुनौती बनेको छ,’ अधिकृत पँगेनीले भने, ‘अतिक्रमण पहिचान गरी खाली गराउन नेपाल सरकारका विभिन्न निकाय र सरोकारवालहरुसँग पहल गरेका छौँ ।’ वन तथा खर्क क्षेत्रमा बसोबास र खेतीपातीका लागि जमिन अतिक्रमण भएको पाइएको होे । 

रुकुमको रन्मा, मैकोट, हुकाम, तकसेरा र काक्री, म्याग्दीको जलजला र गुर्जाघाट तथा बागलुङको छेन्तुङ, स्यालपाखे, नविलगायत गाउँमा पनि जमिन अतिक्रमण भएको पाइएको छ । अतिक्रमणमा परेको केही जमिनमा खेती लगाइएको छ भने केही जमिन कम्पाउन्ड घेरेर मात्रै राखेका बताइएको छ ।  

आरक्षको तथ्याङ्कमा वि.सं. २०४७ देखि सामान्य अतिक्रमण सुरु भएको देखिन्छ । सशस्त्र द्वन्द्वको समयमा यो क्रम बढेको थियो । सरकारले वि.सं. २०३९ सालमा सिकार आरक्ष स्थापना गरिएको थियो । अतिक्रमणसँगै संरक्षण अभावमा ढोरपाटनको रुद्र ताललगायत केही संरचना लोप हुने अवस्थामा पुगेका छन् ।

Share