नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न यस अघि दिएकाे अन्तरिम आदेश खारेज गरी दिएको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र शारंगा सुवेदीको इजलासले ३० वर्षे सेवा अवधिबाट अवकाशमा नपठाउन दिएको अन्तरिम आदेश आज खारेज गरेकाे हाे । याेसँगै नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि नै कायम हुने भएकाे छ ।

यसअघि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहितका २१ जनाले आफूहरूलाई ३० वर्ष सेवा अवधिमा अवकाश दिन लागेको भन्दै भदाै ५ गते सर्वोच्चमा रिट दायर गरेका थिए । याे रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चकाे अन्तरिम आदेशपछि सरकारले यो आदेश कार्यान्वयन गर्न नसकिने भन्दै गृह मन्त्रालयमार्फत भ्याकेटको निवेदन दर्ता गरेको थियो ।

Share