कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पार्टीका शीर्ष नेताहरूको जम्बो टोली बुधबार कैलालीको धनगढीमा आइपुगेको छ ।
माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श समिति बैठकमा सहभागी हुन अध्यक्षसहितका शीर्ष नेताहरुको जम्बो टोली धनगढी आइपुगेको हो । आज धनगढीको स्वास्थ्य तालिम केन्द्रमा परामर्श समितिको बैठक शुरु भएको छ ।
दाहालसहित बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नि सापकोटा र पम्पा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायतका नेताहरू सहभागी रहेका छन् ।
साउन ३१ गते सम्पन्न पार्टीको स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबिचमा छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरे अनुसार बैठक बसेको हो। बैठकमा स्थायी समितिको निर्णय र परिपत्रसहितका प्रस्तावमाथि छलफल हुनेछ।













