कैलालीमा १६ किलो भन्दा बढी चरेससहित एक महिला प्रहरीको फन्दामा

तस्बिर : इलाका प्रहरी कार्यालय मालाखेती

कैलाली । कैलालीको गोदावरीबाट १६ किलो भन्दा बढी लागूऔषध (चरेस) सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार साँझ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–२ तेघरी खानेपानी टोलबाट १६ किलो १ सय ८० ग्राम चरेससहित ४५ वर्षीय मङ्गली देवी धामीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी धामी बझाङको बुंगल नगरपालिका-२ दहबगर घर भई हाल गोदावरी २ बस्दै आएकी जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

धामीको घरको कोठा भित्र भुसामा लुकाई छिपाई राखेको लागूऔषध र नापतौल गर्ने तराजुसहित फेला पारी नियन्त्रणमा लिएको प्रमुख प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले बताए । उनको घरमा लागूऔषध ओसार पसार भैरहेको भन्ने जानकारी पाएपछि प्रहरी त्यस तर्फ लागेको थियो ।

धामीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मालाखेतीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Share