कैलाली । कैलालीमा मङ्गलबार चार जना फरार दोषी प्रहरीको फन्दामा परेका छन् । लागू औषध र चोरी मुद्दामा फरार रहेका उनीहरूलाई आज प्रहरीले पक्राउ गरेको हो ।
मङ्गलबार बिहान जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले अदालतबाट दोषी ठहर भई फरार रहेका चारै जनालाई उनीहरूको घरबाटै पक्राउ गरेको जनाएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका-४ का २६ वर्षीय विजयकुमार नेपाली र वडा नं. ३ का २८ वर्षीय प्रज्वल न्यौपाने लागूऔषध मुद्दामा दोषी ठहरिएपछि फरार भएका थिए । त्यस्तै धनगढी उपमहानगरपालिका-४ का २३ वर्षीय सुविन भन्ने सुरवीर डगौरा र सोही ठाउँका का २१ वर्षीय राज चौधरी भन्ने राजसिंह चोरी मुद्दामा दोषी ठहरपछि फरार भएका थिए । उनीहरु चारै जनालाई पक्राउ गरि थप कारवाहीको लागि जिल्ला अदालत कैलालीमा पेस गरिएको प्रहरीले जानकारी दिएको छ ।













