बझाङमा पहिरोमा ज्यान गुमाएकाहरूको परिवारलाई बुङ्गल नगरपालिकाले ४ लाख राहत दिने

तस्बिर : बुङ्गल नगरपालिकाको सामाजिक सञ्जालबाट

बझाङ । बझाङ जिल्लाको बुङ्गल नगरपालिका-१० टुमेडा गाउँमा पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई बुङ्गल नगरपालिकाले राहत स्वरूप ४ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

बुङ्गल नगरपालिकाका प्रमुख जयबहादुर धामीले एक विज्ञप्ति निकालेर मृतकका परिवारलाई तत्काल राहत स्वरूप १० हजार रुपैयाँ नगदसहित राहत सामग्री प्रदान गर्ने र पछि पालिकाले चार लाख रुपैयाँ राहत दिने जनाएको छ ।

पहिरोले टुमेडा गाउँका वीरा धामीको घर पुरिँदा उनकी श्रीमती कालीदेवी धामी, जेठी बुहारी गोल्के धामी तथा नातिनीहरू ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी गरी चार जनाको ज्यान गएको थियो ।

यस अघि सुदूरपश्चिम सरकारले पनि मृतकका परिवारलाई राहत स्वरूप प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

Share