कमल बहादुर शाह दोश्रो पटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त 

तस्बिर : दिनेश खबर

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह दोस्रो पटक नियुक्त भएका छन्। शाहलाई आज प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

आइतबार कांग्रेस संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। त्यस लगत्तै एमालेको समर्थनमा शाहले प्रदेश प्रमुख मियाँ समक्ष मुख्यमन्त्रीमा  दाबी गरेका थिए।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीमा आफ्नो पार्टीको ११ सांसदको समर्थनमा कांग्रेस संसदीय दलका नेता शाहलाई रहेको बताएका थिए। ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ।

यता कांग्रेस-एमालेका २९ जना सांसद छन् जुन बहुमतको लागि प्रयाप्त हो । कांग्रेसका १८ र एमालेका ११ सांसदको समर्थनमा शाह मुख्यमन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार शाह मुख्यमन्त्रीमा नियुक्त गरेको जनाएका छन् ।

Share