क्रिकेट रङ्गशालाबारे प्रधानमन्त्री ओलीद्वारा क्यान पदाधिकारी र खेलाडीसँग छलफल

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा क्रिकेट रङ्गशालाका बारेमा नेपाल क्रिकेट सङ्घ क्यानका पदाधिकारी र खेलाडीसँग छलफल गरेका छन् ।

आइतबार बिहान प्रधानमन्त्री ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा परामर्श गरेका हुन् । सो परामर्शमा आफू पनि उत्साही रहेको प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले क्रिकेट रङ्गशालाका विषयमा क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका पदाधिकारीसँग छलफल गरेका हुन् । उनले यस छलफलले रङ्गशाला निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन सजिलो विश्वास समेत व्यक्त गरेका छन् । सरकारको पहिलो प्राथमिकतामा सुविधा सम्पन्न क्रिकेट रङ्गशाला रहेका पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।

नेपालमा गतिलो रङ्गशाला नभएको भन्दै क्रिकेट समर्थकले जहिले पनि सरकार र राजनीतिक दलका नेतालाई गाली गर्ने गरेका छन् । त्रिवि अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा हुने प्रत्येक खेलमा समर्थकले गतिलो सुविधा सम्पन्न रङ्गशाला चाहियो भन्दै नारावाजी समेत गरेका छन् ।

नेपालमा हाल सम्म गतिलो रङ्गशाला नै छैन् । आईसीसीद्वारा मान्यता प्राप्त त्रिवि र मूलपानी क्रिकेट रङ्गशाला हुन् तर ती दुवै रङ्गशालामा फ्लड लाइट समेत जडान भएका छैनन् । जसले गर्दा साँझ पख खेल नै हुन सक्दैनन् ।