बाढी पहिरोबाट हालसम्म देशभर १ सय १३ जनाको मृत्यु, १ सय १९ घाइते

काठमाडौं । गत जेठ २८ गतेदेखि देशभर अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी असार ३१ गते सोमबार दिउँसोसम्म १ सय १३ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरोलगायतका विपद्मा परी गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कोशी प्रदेशमा २०, बागमती प्रदेशमा १३, सुदूरपश्चिम प्रदेशमा ८, मधेश प्रदेशमा ५, कर्णाली प्रदेशमा ४ र काठमाडौं उपत्यकामा २ जना गरि जम्मा १ सय १३ जनाको मृत्यु भएको हो । 

साथै कोशी प्रदेशमा ३१, गण्डकी प्रदेशमा २८, कर्णाली प्रदेशमा १६, सुदूरपश्चिम प्रदेशमा ११, मधेश र लुम्बिनी प्रदेशमा ९/९, काठमाडौं उपत्यकामा ८, बागमती प्रदेशमा ७ जना गरी जम्मा १ सय १९ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा राखिएको छ ।

साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको जनाएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना र गण्डकी प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । 

बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय ५ वटा घर, ७८ वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ३९ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ६ सय ३० घर परिवार विस्थापित भएका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको जानकारी दिएको छ ।
 

Share