बैतडी । बैतडीमा सेती नदीको बाढी बस्ती पस्न थालेपछि ६० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जिल्लाको सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाइ सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।
सेती नदीमा उर्लेर आएको बाढी बस्तीमा पस्न थालेपछि सिगास–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माध्यमिक विद्यालयमा सारिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताएका छन् । उनका अनुसार सेतीको बाढी गाउँ पस्ने खतरा बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारेका हो ।
स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा माविमा सारिएको छ । बाढीले बगाउने डरले स्थानीय पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका छन् । नदी किनारमा लगाएको तटबन्धमाथिबाट नदी बग्न थालेपछि घर छाड्नुपरेको स्थानीयहरुको गुनासो रहेको छ ।
सेतीमा पानीको बहाव बढ्दै गएपछि सिगास–५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको जोखिममा परेका छन् । २०७८ कात्तिक पहिलो साता पनि बाढीले सिगास–५ ढुङ्गाडलगायत क्षेत्रमा ठूलो क्षति गरेको थियो ।












