घोडाघोडी नगरपालिकाको विद्यालय स्तरीय परीक्षाको प्रश्नपत्र ‘लिक’

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरिरहेको विद्यालय स्तरीय परीक्षाको प्रश्नपत्र लिक भएको पाइएको छ । गत जेठ २८ गते नगरपालिकाले प्रथम त्रैमासिक परीक्षाको सूचना सँगै तालिका सार्वजनिक गरेको थियो । असार १६ गते आइतबार देखि सञ्चालन भएको कक्षा ९ र १० को परीक्षाको प्रश्नपत्र भने परीक्षा सञ्चालन हुनु दुई​ ​​​​​​दिन अगावै शुक्रबार नै लिक भएको पाइएको छ । 

घोडाघोडी नगरपालिकाको शिक्षा शाखा अन्तर्गत परीक्षा समितिले सञ्चालन गर्ने प्रथम त्रैमासिक परीक्षाको प्रश्नपत्र छाप्ने जिम्मा घोडाघोडी नगरपालिका-१, सुखडमा रहेको घोडाघोडी छापाखानालाई दिइएको थियो । तर, परीक्षा सञ्चालन हुनु पूर्व नै प्रश्नपत्र लिक भए पछि नयाँ प्रश्न पत्र बनाइ परीक्षा सञ्चालन भइरहेको छ । 

पहिलो र दोस्रो दिनको परीक्षा सञ्चालन भइसकेपछि सबै जसो विद्यालयमा प्रश्नपत्र लिक भएको जानकारी भएपछि रातारात असार १८ गतेको नेपाली विषयको प्रश्नपत्र नयाँ तयार पारिएको  थियो । पहिले नै लिक भएको प्रश्नपत्र तयारी गरेका विद्यार्थीहरू नयाँ प्रश्नपत्र आएपछि छक्क परेको परीक्षार्थी छात्राले बताइन् । 

यता घोडाघोडी नगरपालिकाका शिक्षा शाखा प्रमुखले आफूलाई सो को जानकारी नभएको भन्दै गैरजिम्मेवार प्रतिकृया दिइरहेका छन् । नगरपालिकाका एक कर्मचारीका अनुसार परीक्षा शाखाले यस्तो गैरजिम्मेवार क्रियाकलाप गरेको र आगामी परीक्षा नयाँ प्रश्नपत्र बनाइ पठाउने तयारी गरेको छ । अबका परीक्षाका लागि नयाँ प्रश्नपत्र बनाउने भए पनि यस अघि नै लिक भएको प्रश्नपत्रमा सञ्चालन भइसकेका दुई परीक्षा भने के हुने भन्ने जवाफ नगरपालिकासँग छैन् ।

लिक भएको प्रश्नपत्रको परीक्षामा पहिले नै तयारी गरेर आएका विद्यार्थीले सोधिएका प्रश्न भन्दा बढी अर्थात प्रश्नपत्रमा वैकल्पिक रूपमा रहेका प्रश्नको जवाफ समेत विद्यार्थीले लेखेको पाइएको एक शिक्षिकाले बताइन् । 

घोडाघोडी नगरपालिका विद्यालय स्तरीय परीक्षा समिति संयोजक भूपेन्द्र विक्रम कँवरले लाखौ रकम बराबरको प्रश्नपत्र खेर गएको बताए । साथै उनले यस विषयमा अनुसन्धान भइरहेको र दोषीलाई उम्कन नदिने समेत बताएका छन् ।

यता घोडाघोडी छापाखानाका सञ्चालक रूपलाल चौधरीले आफूले यस्तो घृणित कार्य नगर्ने र अनुसन्धानबाट दोषी ठहर भए जस्तो सुकै कारवाही समेत भोग्न तयार रहेको बताए ।