गोही र कछुवाको प्रजननका लागि घोडाघोडीमा ‘स्याण्ड बैङ्क’ को निर्माण

गोही तथा कछुवाका लागि निर्माण गरिएको प्रजनन स्थल स्याण्ड बैङ्क

कैलाली । कैलालीकाे घोडाघोडी नगरपालिका-१, मा अवस्थित घोडाघोडी ताल क्षेत्रमा गोही र कछुवाका लागि प्रजनन स्थल ‘स्याण्ड बैङ्क’को निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको २ लाख लगानीमा उक्त प्रजनन स्थल निर्माण गरिएको हो ।

जिल्लाको मध्यवर्ती क्षेत्रमा अवस्थित विश्व सिमसार तथा रामसार सूचीमा सूचिकृत घोडाघोडी ताल क्षेत्र जीव जन्तु र पशुपक्षीका लागि निकै प्रख्यात रहेको छ । यहाँ मगर गोही, कछुवा लगायतका जीवहरू पाइने गर्दछन् । मगर गोहीलाई प्रजननका लागि सुख्खा बालुवा भएको क्षेत्र आवश्यक पर्ने हुनाले त्यस क्षेत्रमा प्रजनन स्थल निर्माण गरिएको हो । विगतमा विश्वव्यापी पर्यावरण संरक्षणका लागि काम गर्दै आएको डब्लुडब्लुएफको सहयोगमा यस्ता प्रजनन स्थल निर्माण गरिएका थिए । तर, ती स्थल होचा स्थानमा बनाइएका कारण त्यहाँ समस्या हुने गरेको थियो । यस पटक त्यसलाई मध्ये नजर गर्दै अलिक अग्लो स्थानमा बनाइएको छ ।

ती बनाइएका क्षेत्रहरू पानीले ढाकिएपछि गोहीहरू गाउँ बस्ती नजिकका नदीनालामा गएर अण्डा पार्ने, कोरल्ने र बच्चा निकाल्ने काम गर्दथे । बस्ती नजिकका नदीहरूमा गोहीले प्रजनन गर्दा मान्छेलाई र गोही दुवैलाई समस्या हुने गरेको घोडाघोडी क्षेत्र तथा जन जागरण मञ्चका सदस्य दीपक शाहले बताए । 

प्रजनन क्षेत्र नहुँदा हुने गरेको समस्याले गर्दा गोहीहरूले अनेत्र गएर बच्चा जन्माउनु पर्ने समस्या रहेको चरा संरक्षण नेटवर्कका सदस्य कृष्ण चौतारीले बताए । ‘घोडाघोडी ताल क्षेत्रमा प्रजनन स्थल नहुँदा गोहीले पश्चिममा कौवा खोला र पूर्वमा डोडा नदीमा गएर अण्डा पार्ने र कोरल्ने गर्दथे त्यसपछि बच्चा निकालेपछि फेरि यही आउँदा उनीहरूलाई पनि मान्छेको डर हुने र मान्छेलाई पनि गोहीको त्रास हुने गर्दथ्यो’, उनले भने, ‘त्यसकारण यही ताल क्षेत्रमै प्रजनन क्षेत्र भयो भने सहज पनि भयो र कुनै त्रास पनि भएन जसले गर्दा उनीहरू बच्चालाई राम्रोसँग हुर्काउन पनि सक्ने भए ।’

तर, हाल सुदूरपश्चिम प्रदेश सरकारको २ लाख आर्थिक सहयोगमा डिभिजन वन कार्यालय पहलमानपुरले डल्फिन संरक्षण केन्द्र भजनीलाई जिम्मा दिएर उक्त प्रजनन स्थल निर्माण गरेको हो । गोहीका लागि बालुवा भएको स्थल अण्डा पार्न र कोरल्न उपयुक्त हुने गर्दछ । घोडाघोडी ताल क्षेत्र सिमसार क्षेत्र भएकाले गोही तथा कछुवाका लागि उपयुक्त प्राकृतिक प्रजनन स्थल छैन् । यहाँ हाल करिब ३० वटा मगर गोही रहेको पाइएको छ । गोहीका साथै यस क्षेत्रमा कछुवा समेत पाइने गरेका छन् । कछुवालाई प्रजननका लागि उपयुक्त स्थान अभावमा समस्या हुने गरेको थियो । घोडाघोडी ताल क्षेत्रमा घडियाल गोही समेत ल्याएर राखिएको भए पनि उसलाई बग्ने पानी आवश्यक हुने भएकाले घोडाघोडी ताल उपयुक्त बास स्थान नभएपछि संरक्षित गर्न नसकिएको चरा संरक्षण नेटवर्कका सदस्य चौधरीले जानकारी दिए ।

वर्षायाममा उपयुक्त बासस्थान अभावमा गोही बस्तीमा समेत पस्ने गरेकाले असुरक्षा हुने गरेको छ । आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र घोडाघोडी प्राकृतिक एवं धार्मिक पर्यटकीय क्षेत्रमा दैनिक दर्जनौं पर्यटक आउने गर्दछन् । उक्त ताल छेउमा रहेको ओजुवा तालमा विगत केही वर्षयता पर्यटकका लागि डुङ्गा शयर गर्ने व्यवस्था गरिएको थियो । तर, त्यस तालमा मगर गोही रहेकाले सुरक्षित नभएको भन्दै नगरपालिकाले तत्काललाई डुङ्गा बन्द गर्नु भनी सूचना सार्वजनिक गरेपछि हाललाई बन्द रहेको छ ।

ओजुवा तालमा डुङ्गा तत्काल बन्द गर्न भनी नगरले निकालेको सूचना

तर, उक्त तालमा रहेका मगर गोहीलाई घोडाघोडी तालमै सार्ने तयारी भइरहेको छ ।

गोही सार्नका लागि ओजुवा तालको पानी खाली गरिँदै

पूर्व पश्चिम राजमार्गको छेउमै अवस्थित यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टिकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिइएको छ । करिब ४ मिटर औसत गहिराइ भएको घोडाघोडी तालको क्षेत्रफल करिब १३८ हेक्टर छ। यो ताल हत्केला आकारको रहेको छ । यस आसपासमा रहेको अन्य १३ वटा ससाना तालहरू समेत गरेर उक्त सिमसार क्षेत्रमा तालैतालले ओगटेको क्षेत्रफल मात्र २ सय ४८ हेक्टर रहेको छ । घोडाघोडी तराई क्षेत्रमा पाइने प्राकृतिक तालहरू मध्ये सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको ताल क्षेत्र हो ।

विश्व रामसार एवं सिमसार क्षेत्रमा संरक्षित घोडाघोडी ताल क्षेत्र पर्यावरणीय हिसाबमा अत्यन्त महत्वपूर्ण मानिन्छ । सयौँ प्रजातिका चराचुरुङ्गी पाइने यस क्षेत्रलाइ संरक्षण गर्नु अत्यावश्यक छ । तर, पर्यटक आकर्षण गर्ने नाममा धमाधम कङ्क्रिटका संरचना निर्माण भइरहेका छन् ।