टी २० विश्वकप उद्घाटन : दुवै आयोजक राष्ट्रको विजयी सुरुवात 

कैलाली । आइतबारदेखि अमेरिकामा सुरु भएको आईसीसी टी२० विश्वकप क्रिकेट २०२४ मा दुई आयोजक राष्ट्र वेस्ट इन्डिज र अमेरिकाले सुखद सुरुवात गरेका छन् । अमेरिकाले क्यानडालाई ७ विकेटले पाखा लगाउँदा वेस्ट इन्डिजले पपुवा न्युगिनीमाथि ५ विकेटको जित दर्ता गरेको हो । 

पिएनजीले दिएको १ सय ३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । उसका लागि रोस्टन चेज २७ बलमा ४ चौका र २ छक्का सहित ४२ रनको अविजित इनिङ खेले । ओपनर ब्रान्डन किंगले २९ बलमा ७ चौका सहित ३४ रन जोड्दा निकोलस पुरनले २७ तथा रोभमन पावेल र आन्द्रे रसेलले १५-१५ रन जोडे । 

बलिङ तर्फ पिएनजीका लागि असद भालाले २ तथा अलेइ नाओ, चाड सोपर र जोन करीकोले समान १ विकेट लिए । 

 त्यसअघि गयानामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । सुस्त सुरुवात गरेको पिएनजीले अन्तिम ओभरमा राम्रो ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो । 

 पिएनजीका लागि सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेले । किप्लिन डोरिगाले २७ रन जोड्दा कप्तान असद भालाले २१ रन बनाए । त्यस्तै चार्ल्स अमिनीले १२ तथा चाड सोपरले १० रनको योगदान गरे । 

 वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र अलजारी जोसेफले समान २ विकेट लिएका लिँदा अकिल होसेन, रोमारियो शेफेर्डगुडकेश मोतिले १–१ विकेट लिए । 

 वेस्ट इन्डिज र पिएनजी रहेको समूह सि मा न्युजिल्यान्ड, अफगानिस्तान र युगान्डा रहेका छन् । 

 यस्तै सोमबार नै भएको पहिलो खेलमा सह-आयोजक अमेरिकाले सानदार सुरुवात गरेको छ । डल्लास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा अमेरिकाले क्यानाडा माथि ७ विकेटको सानदार जित दर्ता गरेको हो । 

 क्यानडाले दिएको १ सय ९५ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले १७ ओभर ४ बलमा मात्र ३ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गर्यो । उसका एरन जोन्सएनड्रीस गुसको १ सय ३१ रनको विष्फोटक साझेदारीले खेल क्यानडाको हातबाट टाढा खोसिएको हो । 

 जोन्सले ४० बलमा ४ चौका र १० छक्काको मद्दतमा अविजित ९४ रनको उारी खेल्दा गुसले ४६ बलमा ७ चौका र ३ छक्का सहित ६५ रन बनाएर आउट भएका थिए । 

 ओपनर स्टेभेन टेलर शून्यमा पेभेलियन फर्किएपछि अमेरिका केही दबाबमा परेकोे थियो । अर्का ओपनर मोनांक पटेल पनि १६ रन बनाएर आउट भएपछि अमेरिकाको स्कोर ४२-२ को अवस्थामा रहेको थियो । तर तेस्रो विकेटको विशाल साझेदारी पछि अमेरिका जिततर्फ लम्किएको थियो । अमेरिकाका कोरी एन्डरसन ३ रनमा अविजित रहे । 

 क्यानाडाका लागि कलीम सना, डिलन हेलिगर र निखिल दत्तले समान १ विकेट लिएका थिए । 

 त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको क्यानाडाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९४ रनको विशाल आँकडा तयार गरेको थियो । क्यानाडाका लागि नभनित धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाएका थिए । 

 यस्तै निकोलस किर्तनले ५१ रन बनाउँदै अर्धशतक पुरा गर्दा एरन जोन्सनले २३, दिलप्रित सिंहले ११ तथा पर्गत सिंहले ५ रन बनाए । 

 अमेरिकाका लागि अलि खान, हरमीत सिंह र कोरी एन्डरसनले १-१ विकेट लिए । 

अमेरिका र क्यानाडा रहेको समूह ए मा भारत, पाकिस्तान र आयरल्यान्ड समेत रहेका छन् ।