फ्रेस रिलिज : अनमोल केसीको ‘फर्की फर्की’ संगै महाभिडन्तमा आर्यन, प्रदिप र पलको ‘पुजार सार्की’

काठमाडौं। आज जेठ १० गते अर्थात बुद्ध जयन्तीको अवसर पारेर यस बर्षका दुई प्रतिक्षित नेपाली फिल्महरु ‘फर्की फर्की’ र ‘पुजार सार्की’ रिलिज भएका छन्। एकातिर अनमोल केसिको ‘फर्की फर्की’ र अर्कोतिर आर्यन सिग्देल, प्रदिप खड्का र पल शाहको ‘पुजार सार्की’ बिच बक्स अफिसमा महाभिडन्त हुन लागेको हो।

‘फर्की फर्की’ मा अनमोल केसी, जसिता गुरुङ, रवी काफ्ले, समृद्धि अर्याललगायत कलाकारहरू मुख्य भूमिकामा छन्। फिल्मलाई सुयोग गुरूङले लेखन एवं निर्देशन गरेका हुन्। सार्वजनिक ट्रेलर र गीतबाट यो फिल्मले दर्शकमाझ राम्रो हाइप बनाएको देखिन्छ। अनमोलको स्टारडमको प्रभाव फिल्ममा देखिएको छ।

फिल्मलाई रोमान्स, ड्रामा र एक्सन जनरामा राखिएको छ। लभस्टोरीसँगै ‘टाइम लुप’ को कथालाई फिल्मले उठान गरेको छ।

रोहित अधिकारी फिल्मको प्रस्तुति रहेको फिल्मको निर्माता रोहित अधिकारी र ओमप्रकाश अग्रवाल हुन्। यसमा नरेन्द्र मैनालीको डिओपी, अष्ट महर्जनको द्धन्द्ध, किरण थापाको कोरियोग्राफी, सुरेन्द्र पौडेलको सम्पादन छ।

पहिलोपटक तीन ‘स्टार’ अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरेको फिल्म ‘पुजार सार्की’ पनि आजदेखि नै रिलिज भएको छ। उनीहरुको स्टारडमको फाइदा पनि फिल्मलाई हुने देखिन्छ । फिल्मले जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने संघर्षको कथा भन्छ ।

फिल्ममा अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । विकास सुवेदीको लेखन रहेको फिल्मलाई संगीतकार समेत रहेका सुवास भुसालले निर्माण गरेका हुन् । राजेश श्रेष्ठको डिओपी रहेको फिल्मलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।

यो प्रतिस्पर्धालाई धेरैले अनमोल र प्रदीप बीचको स्टारपावरको लडाइँको रूपमा पनि लिएका छन्। राम्रो बिदा र फिल्ममा चर्चित अनुहार भएकोले यी दुबै फिल्मको ब्यापार राम्रो हुने आशा गरिएको छ।

Share