कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले प्रदेश सभामा विश्वासको मत पाएका छन् ।
बिहीबार प्रदेश सभामा उनको पक्षमा २८ मत पर्यो । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । सोडारीलाई नेकपा एमालेका ११, माओवादीका १०, समाजवादीका ४, नागरिक उन्मुक्ती रञ्जिता पक्षका २ र एक स्वतन्त्र सांसदले बिश्वासको मत दिए ।
तर उता कांग्रेस, उन्मुक्ति रेशम पक्ष र राप्रपाका सांसदहरूले भने विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा सहभागी नभई बहिष्कार गरेर हिँडेका थिए । उनीहरू बहिस्कार गरेर हिँडेपछि मुख्यमन्त्री सोडरीको विपक्षमा कुनै पनि मत परेन् । मुख्यमन्त्री नियुक्तीमा प्रदेश प्रमुखको व्ययभार असंवैधानिक भएको उनीहरूको आरोप छ ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। यसरी नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ।
सोडारी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र प्रदेश सभा सदस्य लगायतको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
मुख्यमन्त्रीले यस अघि वैशाख २० र २१ गते गरी दुई पटक विश्वासको मत लिने प्रयास गरेका थिए। तर, तत्कालीन समयमा नेकपा एमालेले विश्वासको मत दिन नसक्ने भनेपछि स्थगित गरिएको थियो। एमाले संसदीय दलले सरकारमा नजाने तर मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेपछि उनले बिहीबार विश्वासको मत लिएका हुन् ।













