एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईकाे सामना गर्दै नेपाल, कस्तो छ विगत ?

तस्बिर : क्यान

कैलाली। ओमनमा जारी दोस्रो संस्करणको एसीसी मेन्स प्रिमियर कपकाे सेमिफाइनल समीकरण बुधबार सम्पन्न भयो । सोही अनुसार आज सेमिफाइनलका खेल हुँदै छन् । पहिलो खेल नेपाल र यूएई बीच हुने छ भने दोस्रो खेल ओमान र हङकङ बीच हुने छ ।

समूह ‘ए’ मा अपराजित यात्रा कायम गर्दै समूह विजेताको रूपमा नेपाल सेमिफाइनल प्रवेश गरेको टोली हो भने यूएई समूह ‘बी’ बाट चार मध्ये तीन खेलमा जित हात पार्दै समूह उपविजेताकाे रूपमा सेमिफाइनल प्रवेश गरेको टोली हो ।

नेपाल एसीसी प्रिमियर कपकाे साविक विजेता टोली समेत हो भने यूएई उपविजेता टोली हो । गतवर्ष वैशाख १८ गते काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि चुम्दै एसिया कपमा छनोट भएको थियो । आज पनि यूएईलाई पराजित गर्दै फाइनलको यात्रा तय गर्ने धुनमा नेपाली टोली रहेको छ तर जारी प्रतियोगितामा यूएई पनि कमजोर छैन् । यसलाई पनि उपाधि दाबेदार टोलीको रूपमा हेरिएको छ । त्यसकारण आज नेपाललाई निकै ठुलो चुनौती समेत रहेको छ ।

फाइनलको यात्रा तय गर्न नेपालले थप रणनीतिक हिसाबले मैदान उत्रिनु पर्ने देखिएको छ । यूएईका मोहमद वासिम, अलिशान शराफु, आशिफ खान, लगायतका ब्याट्सम्यान निकै लयमा रहेका छन् । जसले नेपालको बलिङ लाइन नै धराशायी बनाई दिन सक्छन् ।

बलिङतर्फ पनि यूएईका आयान अफजल खान, कप्तान मोहम्मद वासिम,अलि नासर र बासिल हमिदले जारी प्रतियोगितामा निकै लय समेतका छन् । जसले नेपालको ब्याटिङ लाइनलाई तहसनहस बनाई दिन सक्छन् । यूएईका ब्याट्सम्यान सुरुवात देखि नै आक्रामक रूपमा देखिने गरेका छन् । जसमा नेपाली बलरले केही संयमता अपनाउनु पर्ने छ । नेपालका अविनाश बोहरा, करण केसी र सोमपाल कामीले सुरुवाती ६ ओभरमा बढी नै मिहिनेत गर्नु पर्ने छ । यस्तै ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र गुल्सन झाले बीचमा केही संयमित भएर बलिङ गर्दा अन्तिम फेरि सोमपाल, अविनाश, करण र दीपेन्द्रले थप टोलीलाई सम्हाल्नु पर्ने छ ।

ब्याटिङ तर्फ पनि ओपनर कुशल भुर्तेल र आशिफ शेखले संयमित भएर सुरुवात देखि नै केही आक्रामक सुरुवात गर्नु पर्ने छ । त्यसपछि कोच र कप्तानले अवस्था हेरेर कुशल मल्ल, गुल्सन झा, स्वयम् कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरी पठाउने खेलाडीले स्थिति हेरेर ब्याटिङ गर्नु पर्ने छ । त्यसपछि आउने खेलाडीले पनि अवस्था हेरी ब्याटिङ गर्दा टोली सहजता तिर अगाडि बढ्ने छ । अगाडि ऐरी ब्याटिङमा आएनन् भने उनले फिनिसिङकाे भूमिका निभाउनु पर्ने छ जसले गर्दा टोली सहज तरिकाले यूएई माथि हावी हुन सक्छ ।

कस्तो छ दुई टोली बीचको विगत ?

नेपाल र यूएई बीच भएका पछिल्ला पाँच भेटमा नेपाल यूएई माथि भारी परेको छ । जसमा नेपालले तीन खेलमा विजयी हुँदा यूएई दुई खेलमा विजयी भएको छ । उसो त केही समय यता देखि यूएई र नेपाल एकअर्काका परिपूरक जस्तै मानिएका छन् । नेपालका हरेक खुट्किलामा यूएई नै प्रतिद्वन्दी बन्दै आएको छ । तर अन्तिममा उसले हार नै बेहोरेको छ । नेपालले एसीसी प्रिमियर कपकाे पहिलो संस्करणमा पनि यूएईलाई पराजित गर्दै उपाधि हात पारेको थियो । यस्तै विश्वकप लिग दुई मा समेत नेपालले यूएईलाई पराजित गर्दै विश्वकप क्वालिफायर स्थान बनाएको थियो । यस आधारमा नेपाल र यूएई चिरपरिचित प्रतिद्वन्द्वी हुन ।

आज यूएई र नेपालको खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजे सुरु हुने छ । यो भिडन्तलाई एसियाली एसोसिएट क्रिकेटमा ‘एल क्लासिको’ पनि भन्ने गरिन्छ।

एसियाली एसोसिएट क्रिकेटमा सँधै उपाधि दाबेदार रहने यी दुई टोलीबीच हुने उच्च प्रतिस्पर्धा, तनावलगायत कारणले यसलाई एल क्लासिको भन्ने गरिन्छ।

यस्तै आज नै हुने दोस्रो सेमिफाइनल खेल पौने चार बजे सुरु हुने छ । सेमिफाइनलमा विजेता टोली उपाधिको लागि भिड्ने छन् भने आज पराजित हुने दुई टोली तेस्रो स्थानको लागि खेल्ने छन् । यस प्रतियोगिताको उपाधि विजेता टोलीले एसिया कपमा स्थान बनाउने छ ।