कैलाली । ओमानमा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेट अन्तर्गत समूह चरणमा सतप्रतिसत जित हात पार्दै समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज साउदी अरेबियासँग भएको अन्तिम खेलमा ६ विकेटले विजयी भयो ।
वर्षाका कारण ८ ओभरमा झारिएको खेलमा नेपालले ७४ रनको लक्ष्य पाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १७ रन बनाएर आउट भए। दुई बलको सामना गरेका कुशल भूर्तेल शून्यमा आउट भएका थिए भने आसिफ शेख २ रन मात्र बनाउन सफल भएका थिए। कुशल मल्ल ५ बल खेलेर २ रन बनाएर बोल्ड भए।
नेपालका तर्फबाट करण केसीले २, अविनाश बोहराले २, ललित राजवंशी र प्रतिश जीसीले समान १/१ विकेट लिए।
वर्षाका कारण मैदान भिजेको हुँदा नेपाल र साउदी अरबबीचको खेल ढिलो सुरु भएको थियो। ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा ११ः४५ बजेका लागि खेल समय तोकिए पनि मैदान भिजेका कारण ढिलो भएको हो।
वर्षाका कारण खेलमा ढिलाई भएका कारण २० ओभरको खेल ८ ओभरमा सिमित गरिएको थियाे।












