काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा प्रहरीको फन्दामा परेका छन्।
२०६४ जेठ २० उच्च अदालत पाटनले लागू औषध मुद्दामा दोषी ठहर गरेको थियो । २०६१ साउन ८ गते काठमाडौंबाट ५ ग्राम खैरो हिरोइन सहित पक्राउ परेका लामालाई पाटनले ०६४ जेठ २० मा पाँच वर्ष कैद र ५ हजार जरिवाना तोकेको थियो । त्यसयता लामा फरार रहेका थिए ।
हाल आएर उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सर्लाही घर भएर काठमाडौं बस्दै आएका लामालाई लागूऔषध कारोबारमा २०६१ साल भदौ २५ गते काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसपछि उनलाई जिल्ला अदालतले २०६२ जेठ १० मा ६ महिना मात्र कैद सजाय फैसला सुनाएपछि उनी कारागारबाट निस्किएका थिए ।
जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेको थियो। जसमा उच्च अदालत पाटनले दावा लागुऔषध प्रयोगकर्ता मात्रै नभएर कारोबारी समेत भएको ठहर गर्दै ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना सजाय तोकेको थियो ।












