कैलाली । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत ३१ औं खेलमा मङ्गलबार राति राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्स विरुद्ध २ विकेटको सङ्घर्षपूर्ण जित दर्ता गरेको छ ।
२ सय २४ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले अन्तिम बलमा ८ विकेट गुमाएर सङ्घर्षपूर्ण जित हात पार्यो । सुरुवात चरण देखि नै एउटा एन्डबाट विकेट गुमाउँदै गएको राजस्थान हार नजिक पुगेको थियो । तर, अर्को फन्डबाट ओपनर जोस बटलरले इनिङ सम्हाल्दै अन्तिम बलमा जित दिलाउन सफल भए ।
सुरुवात देखि नै पारी सम्हाल्दै गएका बटलरले अविजित १ सय ७ रनको शतकीय पारी खेले । उनले ६० बलमा ९ चौका र ६ छक्का प्रहार गरे । यो सँगै आईपीएलको इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको आफ्नै कीर्तिमान बराबरी गरेको हो । बटलरले जारी संस्करणको आईपीएलमा दोस्रो शतक प्रहार गरेका हुन् ।
अन्तिम ओभरमा ९ रन चाहिएकोमा बटलरले वरुण चक्रवर्तीको बलमा पहिलो बलमा छक्का प्रहार गरे । त्यसपछि लगातार तीन बलमा रन नबनेपछि पाँचौं बलमा बटलरले २ रन लिए । त्यसपछि अन्तिम बलमा १ रन लिँदै बटलरले राजस्थानलाई जित दिलाएका थिए ।
अन्तिमसम्म क्रिजमा जमेका बटलरले जित दिलाएरै छोडे । शतकीय पारी खेल्दै जित दिलाएका उनी ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।
यस्तै रियान परागले ३४ रन बनाउँदा रोभमन पावेलले २६, यशस्वी जैसवालले १९ रन बनाए ।
कोलकाता लागि हर्षित राना, सुनिल नारायण र वरुण चक्रवर्तीले २/२ विकेट हात पार्दा वैभव अरोराले १ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले सुनिल नारायणको शतकीय पारीमा ६ विकेट गुमाउँदै २ सय २३ रन बनायो । नारायणले ५६ बलमा १३ चौका र ६ छक्का प्रहार गर्दै १ सय ९ रन बनाए । यस्तै आंगृष रघुवंशीले ३० रन बनाउँदा रिन्कु सिंहले २० रन जोडे ।
राजस्थानका लागि आवेश खान र कुलदीप सेनले २/२ तथा ट्रेन्ट बोल्ट र यूजभेन्द्र चहलले १/१ विकेट लिए ।
जित पछि राजस्थान ७ खेलमा १२ अङ्क सहित शीर्ष स्थानमा यथावत रहेको छ । कोलकाता ६ खेलमा ८ अङ्क सहित दोस्रो स्थानमा छ ।
आईपीएलमा आज गुजरात टाईटन्स र दिल्ली क्यापिटल भिड्ने भएका छन् ।













