हैदराबादद्वारा आफ्नै रेकर्ड ब्रेक, हेडको शतक, बैङ्गलोरको छैटौँ हार

तस्बिर : एजेन्सी

कैलाली । भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२४ मा सनराइजर्स हैदराबादले आफ्नै रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड कायम गरेको छ । आईपीएल अन्तर्गतकाे ३० औँ खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलोरविरुद्ध २० ओभरमा मात्रै ३ विकेट गुमाएर २ सय ८७ रनको विशाल योगफल खडा गर्यो । जुन आईपीएल इतिहासकै सबै भन्दा ठूलो योगफल हो ।

जारी आईपीएलमा हैदराबादले मुम्बईविरुद्ध २७ मार्चमा ३ विकेटको क्षतिमा २ सय ७७ काे योगफल बनाएको थियो । कोलकाता नाइट राइडर्स एकै इनिङ्समा धेरै रन बनाउने टोलीको सूचीमा दोस्रो स्थानमा रहेको छ । कोलकाताले चालू संस्करणमै दिल्ली क्यापिटल्सविरुद्ध ७ विकेटको क्षतिमा २ सय ७२ रनको योगदान खडा गरेको थियो । कोलकाता र दिल्लीबीच ३ अप्रिलमा खेल भएको थियो ।

उसो त यस संस्करणको आईपीएलमा कोलकाता र हैदराबादले खेलाडी माथि पैसाको खोलो नै बगाई दिएको थियो । कोलकाताले अस्ट्रेलियन तीब्र गतिका बलर मिचेल स्टार्कलाई २४ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो । जुन आईपीएल इतिहासमै सबै भन्दा महङ्गो मूल्य हो ।

त्यसै गरी हैदराबादले कप्तान प्याट कमिन्सलाई २० कराेड ५० लाख भारुमा अनुबन्ध गरेकाे थियाे ।

ट्रभिस हेडको शतकीय इनिङ्स

टस हारेर पहिले ब्याटिङको निम्तो पाएकाे हैदराबादले दरिलो ओपनिङ पायो । ओपनर अभिषेक शर्मा र ट्रभिस हेडले पहिलो विकेटका लागि ८.१ ओभरमा १ सय ८ रनको साझेदारी गरे । अभिषेकले २२ बलमा समान दुई चौका र छक्का प्रहार गरी ३४ रनको योगदान दिँदै पेभिलियन फर्किए । त्यसपछि हेड र हेनरिच क्लासेनले दोस्रो विकेटका लागि २६ बलमा ५७ रनको साझेदारी गरे । हेडले ४१ बलमा ८ छक्का र ९ चौकाको सहयोगमा १ सय २ रनकाे शतकीय पारी खेले ।

हेड आउट हुँदा हैदरावाद १२.३ ओभरमा १६५-२ को निकै बलियो स्थितिमा रहेको थियो । हेडले २० बलमा ५० रन बनाएका थिए । उनले केवल ३९ बलमा शतकीय इनिङ्स खेलेका हुन् । आईपीएलमा कम बलमा शतक बनाउने उनी चौथो खेलाडी बने । जारी सिजनमा भने कम बलमा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी बने ।

त्यसपछि हेनरिच क्लासेन र एडेन माक्रामले २७ बलमा ६६ रनको साझेदारी गर्दै टोलीलाई झनै अगाडि बढाए । क्लासेन ३१ बलमा ७ छक्का र दुई चौका सहित ६७ रनको अर्धशतकीय पारी खेल्दै पेभिलियन फर्किए ।

त्यसपछि मैदान पसेका अब्दुल समदले माक्रामकाे सहयोगमा आक्रामक पारी खेले । यी दुवै बीच चौथो विकेटका लागि मात्र १९ बलमा ५६ रनको साझेदारी भयो । माक्रामले १७ बलमा समान दुई चौका र छक्का प्रहार गरी ३२ तथा समदले १० बलमा तीन छक्का र चार चौका प्रहार गर्दै ३७ रनमा अविजित रहे ।

उत्कृष्ट प्रदर्शनका बावजुत पनि बैङ्गलोर पराजित

जारी आईपीएलमा बैङ्गलोरले लगातार पाँचौं हार बेहोरेको छ, भने समग्रमा सात खेल खेलेको उसले छ खेलमा हार बेहोरेको छ । गएराति खेलमा हैदराबादसँग २५ रनले पराजित भयो ।

आईपीएल इतिहासमै सर्वाधिक लक्ष्य पछ्याई रहेको बैङ्गलोरले सुरुवात गजब गर्यो । उसका लागि कप्तान फाफ डु प्लेसिस र विराट कोहलीले पहिलो विकेटका लागि ३६ बलमा ८० रनको साझेदारी गर्दै टोलीलाई अगाडि बढाए । ६.२ ओभरमा कोहली ४२ रनमा हैदराबादका मयंक मार्कण्डेकाे सिकार बने । उनले २० बलको सामना गर्दै छ चौका र दुई छक्का प्रहार गरे ।

त्यसपछि भने केही समय बैङ्गलोरको विकेट पतन रोकिएन । लामो साझेदारी पनि बन्न सकेन । ७.६ ओभरमा मात्र ७ रनमा विल ज्याक्स रन आउट भए । ८.६ ओभरमा रजत पाटीदार ९ रनमा मार्कण्डेकै सिकार बने । त्यसपछि ९.३ ओभरमा कप्तान डु प्लेसिस हैदराबादका कप्तान प्याट कमिन्सले विकेट किपर हेनरिच क्लासेनकाे हातबाट क्याच गराए ।

उनीले पेभिलियन फर्किनु अघि २८ बलमा ७ चौका र चार छक्काको मद्दतमा ६२ रनको अर्धशतकीय पारी खेले । त्यसको केही बेरमा ९.६ ओभरमा सौरभ चौहान शून्य रनमा कप्तान कमिन्सकाे सिकार बने ।

पूर्ण रूपमा धराशायी बनेको बैङ्गलोरको पारीलाई विकेट किपर दिनेश कार्तिक र महिपाल लोम्रोरले छैटौँ विकेटका लागि २५ बलमा ५९ रनको साझेदारी गर्दै केही आशा जीवितै राखे । तर १४.१ ओभरमा १९ रनमा लोम्रोर हैदराबादका कप्तान प्याट कमिन्सकै हातबाट क्लिन बोल्ड भए ।

त्यसपछि पनि कार्तिकले अनुज रावतसँग २८ बलमा ६३ रनको साझेदारी गर्दै टोलीलाई केही जितको आशा जगाए पनि त्यो सम्भव भएन । अन्तिममा कार्तिक पनि १८.५ ओभरमा टी नटराजनकाे सिकार भए । उनले ३५ बलमा सात छक्का र पाँच चौकाको मद्दतमा ८३ रनको पारी खेले । त्यसपछि बेङ्गलोरपूर्ण रूपमा जितबाट वञ्चित भयो । उसले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६२ रन मात्रै बनाउन सक्यो ।

अन्ततः हैदराबादसँग २५ रनको हार बेहोर्न बाध्य भयो । जित सँगै हैदरावाद छ खेल खेल्दै चरमा जित हात पार्दै ८ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । छैटौँ हार बेहोरेको बैङ्गलोर भने दुई अङ्कका साथ तालिकाको पुछारमा रहेको छ ।

आईपीएल क्रिकेटमा आज तालिकाको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्स र तालिकाको दोस्रो स्थानमा रहेको कोलकाता नाइट राइडर्स भिड्दै छन् । दुवै टोलीले समान एक खेलमा मात्रै पराजय भोगेका छन् । एक खेल बढी खेलेका कारण राजस्थान तालिकाको शीर्ष स्थानमा छ ।

आजको खेलमा जित हात पार्दै तालिकाको शीर्ष स्थानमा उक्लिने दाउमा कोलकाता रहेको छ भने आफ्नो स्थानलाई कायमै राख्ने धुनमा राजस्थान रहेको छ । जारी आईपीएलमा दुवै टोली बलिया देखिए पनि तुलनात्मक रुपमा कोलकाता बलियो देखिएको छ ।

Share