रोहितको शतकका बावजुत पनि चेन्नाईसँग पराजित

कैलाली । भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति सम्पन्न खेलमा मुम्बई इन्डियन्स चेन्नाई सुपर किंग्ससँग २० रनले पराजित भएको छ। मुम्बईका लागि ओपनर ब्याट्सम्यान रोहित शर्माले शतकीय पारी खेले पनि जित दिलाउन भने सकेनन् ।

२ सय ७ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्रै बनाउन सक्यो । उसका लागि रोहित शर्माले अविजित १ सय ५ रनको शतकीय पारी खेले पनि त्यो जितका लागि प्रयाप्त भएन ।

सुरुवात निकै राम्रो गरेको मुम्बईका लागि मिडिल अर्डरका ब्याट्सम्यानले गतिलो प्रर्दशन गर्न नसक्दा जित बाट वञ्चित हुन पुग्यो । ओपनर रोहित शर्मा र ईशान किशनले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्दै मजबुत सुरुवात गरेका थिए।

ईशान २३ रन बनाएर आउट भएपछि मुम्बईको लय बिग्रिन पुग्यो। त्यसपछि क्रिजमा आएका सूर्यकुमार यादव आफूले सामना गरेको दोस्रो बलमा नै माथीशा पाथिरानाकाे सिकार बन्दै शून्य रनमा पेभिलियन फर्किएका थिए। त्यसपछि आएका तिलक बर्माले रोहितसँग केही साझेदारी गर्दै टोलीलाई जित तर्फ अग्रसर गराए पनि उनी ३१ रन जोड्दै बाहिरिए पछि टोली फेरि सङ्कटमा पर्यो । अन्य खेलाडीहरूले रोहितलाई राम्रो साथ दिन सकेनन् । टिम डेभिड १३ रनमा मुस्ताफिजुर रहमानकाे सिकार बने ।

बलिङ तर्फ चेन्नाईका माथीशा पाथिरानाले सर्वाधिक ४ विकेट हात पारे । तुसार देशपाण्डे र मुस्ताफिजुर रहमानले समान १ विकेट लिए। ४ विकेट लिएका पाथिराना ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।

त्यस अघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएकाे चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन बनाएको विशाल योगफल खडा गरेको थियो। उसका लागि कप्तान ऋतुराज गायकवाड र शिभम दुबेले अर्धशतकीय पारी खेले। रितुराजले ६९ तथा शिभमले ६६ रन जोडे। महेन्द्रसिंह धोनीले ४ बलमा तीन छक्कासहित २० रनको आक्रामक पारी खेल्दा ओपनर रचिन रविन्द्रले २१ र डेरिल मिचेलले १७ रन बनाए।

मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले २, गेर्राड कोट्जी र श्रेयस गोपालले समान १ विकेट लिएका थिए।

छ खेलमा चौथो जित हात पारेको चेन्नाई ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा रहेको छ। समान खेलमा चौथो हार बेहोरेको मुम्बई ४ अङ्कका साथ आठौं स्थानमा छ।

यस्तै आइतबार नै भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्टलाई ८ विकेटले पाखा लगायो ।

आईपीएलमा आज रोयल च्यालेन्जर्स बैगलुरु र सनराइजर्स हैदराबादबीच खेल हुनेछ।

Share