कैलाली । ‘क्रिकेट मुर्खले खेल्छन, महामुर्खले हेर्छन्’ भनेर कुनै बेला बेलायती साहित्यकार जर्ज बर्नार्ड शाले घोषणा नै गरेका थिए तर पछिल्लो समय कयौं विश्वका क्रिकेट हस्तीहरूले उक्त भनाइलाई नै गलत साबित गरी रहेका छन् । युवराज सिंह, क्रिस गेल, ब्रायन चार्ल्स लारा, सचिन तेन्दुलकर, महेन्द्र सिंह जस्ता अनेकन खेलाडीहरूले क्रिकेटमा अनेकन विश्व कीर्तिमानहरू कायम गरेका छन् ।
पछिल्लो समय विश्वमा फुटबल पछि सर्वाधिक रुचाइएको खेल हो क्रिकेट । हाल क्रिकेटबाट आफ्नो भविष्य खोज्नेहरू नेपालमै कयौं छन् । र विश्वका क्रिकेट हस्ती जस्तै विश्व कीर्तिमान कायम गर्न पनि नेपाली खेलाडी सक्षम छन् र कयौं त्यस्ता विश्व कीर्तिमान कायम गरी सकेका पनि छन् ।
त्यस्तैमा नेपाली खेलाडीको सूचीमा रहेका छन् ‘टाइगर’ उपनामले परिचित सुदूरपश्चिमको कञ्चनपुरका दीपेन्द्र सिंह ऐरी । उसो त सुदूरलाई हरेक दृष्टिकोणले धेरै पछाडि मानिन्छ । तर त्यही सुदूरमा जन्मिएका ऐरीले क्रिकेटमा एक पछि अर्को गर्दै विश्व किर्तिमान कायम गरिरहेका छ्न । केही समय अघि मात्रै चीनको हाङजाउमा सम्पन्न एसियन गेम्समा ९ बलमा अर्धशतक प्रहार गर्दै विश्वका युवराज सिंह, क्रिस गेल जस्ता खेलाडीको कीर्तिमान भङ्ग गर्दै इतिहासमै दुर्लभ नयाँ कीर्तिमान कायम गरेका उनले पुनः एक पटक आफ्नो क्षमता देखाएका छन् ।
दोस्रो संस्करणको एसीसी प्रिमियर कप खेल्न भारतबाट शुक्रबार मात्रै ओमान पुगेको नेपाली टोलीले लगातार दुई खेलमा जित हात पारेको छ । उसो त नेपाल पहिलो संस्करणको उपाधि विजेता टोली पनि हो । यस पटक पनि उपाधिको बलियो दाबेदार टोलीका रूपमा नेपाललाई लिइएको छ । मलेसियासँग खेलेको पहिलो खेलमा पनि राम्रो प्रर्दशन गर्दै ‘प्लेयर अफ दि म्याच’ घोषित भएका दीपेन्द्र सिंह ऐरी दोस्रो खेलमा भने आगो बनेर निस्किए ।
जब जब नेपालको ब्याटिङ धराशायी बन्छ तब तब कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी जस्ता खेलाडीको आगमन क्रिजमा हुन्छ । जसै गरी हावा चल्छ त्यसै गरी हावाकै गतिमा बललाई प्रहार गर्छन् । टोलीमा ठूला सट खेलका लागि माहिर मानिने यी दुई खेलाडी जहिले टोली सङ्कटमा पर्छ तब केही न केही त पक्कै गर्दछन् । शनिबार पनि कतारसँगको खेलमा ८ ओभरको खेल सकिँदा सम्म कुनै पनि खेलाडीहरूले छक्का प्रहार गरेका थिएनन् । टोलीका लागि चौथो नम्बरमा ब्याटिङ गर्न जब मल्ल आए तब उनी सुरुवात देखि नै कतारका बलर माथि जाई लागे । तर उनी धेरै बेर क्रिजमा टिकेनन् मात्रै १८ बलको सामना गरेका उनले ३ छक्का र २ चौका प्रहार गर्दै ३५ रनमा पेभिलियन फर्किएका । उनी पेभिलियन फर्किएपछि मैदानमा पसे तिनै ‘टाइगर’ भनेर चिनिने दीपेन्द्र सिंह ऐरी ।
उसो त ऐरी सञ्चारकर्मीले बेला बखत सोधी राख्दा आफूलाई टोलीले जुन जिम्मेवारी दिएको छ त्यही पूरा गरिरहेको बताई रहेका हुन्छन् । उनी आफूलाई टोलीले फिनिसरको रूपमा हेरी रहेको हुँदा आफूले पनि त्यही काम गरी रहेको बताउँछन् ।
शनिबार उनी पनि मैदान पस्ने बित्तिकै केही आक्रामक र संयमित भएर ब्याटिङ गरिरहेका थिए । १९ औं ओभरको खेल सकिँदा उनले १५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २८ रन बनाएका थिए । जब २० औं ओभर सुरु भयो बलिङ गर्न आए कतारका कमरान खान । बलिङ गर्न आएका खान दीपेन्द्रको तुफानी ब्याटिङको छत्र छायाँमा परे । ओमानी भूमिमा ऐरीले उनको एक, दुई, तीन हैन ६ बलमा नै छक्का प्रहार गरिदिए । जुन विश्वमा पनि विरलै देख्न पाइन्छ । यो सँगै ऐरी एकै ओभरमा छ बलमा छ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडीको दर्जा बनाउन सफल रहे । साथै उनी एकै ओभरमा छ बलमा छ छक्का प्रहार गर्ने विश्वकै पाँचौं खेलाडी बने ।
दीपेन्द्रले उक्त खेलमा २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रनको इनिङ खेले । उनको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।
उनी खेल पछि भन्छन् तीन बलसम्म खेल्दा लागेको थिएन छ छक्का हान्छु भनेर तर तीन बलमा छक्का प्रहार गरिसके पछि चाहिँ अब छ बलमा नै छक्का हान्छु भन्ने आत्मविश्वास बढी सकेको थियो ।
ऐरी भन्दा अगाडि अगाडि काे काे छन् विश्वमा ६ बलमा ६ छक्का प्रहार गर्ने खेलाडी ?
हर्सल गिब्स
दक्षिण अफ्रिकाका ब्याटर हर्सल गिब्सले २००७ को एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए । उनले नेदरल्याण्ड्सका डान भान बंगेलाई ३० औं ओभरमा ६ छक्का हानेका थिए । हर्सल अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् ।
युवराज सिंह
भारतका पूर्व आक्रामक ब्याटर युवराज सिंहले २००७ को टी २० विश्वकपमा इङ्ग्ल्याण्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडलाई १९ औं ओभरमा ६ छक्का हानेका थिए । युवराज टी २० आईमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् ।
काइरन पोलार्ड
वेस्टइन्डिजका पूर्वकप्तान काइरन पोलार्डले २०२१ को टी २० आई सिरिजमा श्रीलङ्काका स्पिनर अकिला धनञ्जयलाई छैटौँ ओभरमा ६ छक्का हानेका थिए ।
जसकरण मलहोत्रा
अमेरिकाका ब्याटर जसकरण मलहोत्राले २०२१ मा पपुवा न्युगिनीविरुद्ध ओडीआई खेलमा एकै ओभरमा ६ छक्का हानेका थिए । अन्तिम ओभरमा गौडी टोकालाई एकै ओभरमा छक्का हानेका थिए ।












