कैलाली । नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका रेशमलाल चौधरीले दायर गरेको मुद्दा हेर्न नमिल्ने सूचीमा परेको छ।
आज शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासमा परेकाे भए पनि नहकुल सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि स्थगित गरिएको हो। टीकापुर घटनामा दोषी ठहर भएका रेशमलाल चौधरीले आफू जेलमै हुँदा आफ्नी श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए।
चौधरी आफू राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर जेल मुक्त भए लगत्तै पार्टीको प्रथम महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। तर निर्वाचन आयोगले उनको अध्यक्ष पदलाई मान्यता दिन अस्वीकार गरिदिए पनि उनी रिट बोकेर सर्वोच्च अदालत पुगेका थिए।
उनले निर्वाचन आयोग, संस्थापक अध्यक्ष एवम् आफ्नै श्रीमती रञ्जिता श्रेष्ठ लगायतलाई विपक्षी बनाई आफूलाई अध्यक्षको मान्यता नदिने आयोगको निर्णय खारेज हुनु पर्ने माग गर्दै रिट दर्ता गराएका थिए।
उक्त रिटमाथि गत चैत २५ गते न्यायाधीश महेश शर्मा पौडेलको इजलासले प्रारम्भिक सुनुवाइ गरी सर्वोच्च अदालतबाट भएको फैसला समेत सँगै राख्ने आदेश दिएको थियो।
यसअघि रेशम चौधरी जोडिएको टीकापुर घटनाको मुद्दामा फैसला गर्दा न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासबाट फैसला भएको थियो।












