कैलाली । दोस्रो संस्करणको एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उद्घाटन आज ओमनमा हुँदै छ । पहिलो संस्करणको साविक विजेता टोली उद्घाटन खेलमा मलेसियाविरुद्ध खेल्दै छ । पहिलो जित हात पार्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने दाउमा नेपाल रहेको छ । Q ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाली समय अनुसार अपराह्न ४:१५ बजेबाट खेल सुरु हुनेछ ।
यस पटक टी २० फर्म्याटमा हुने प्रतियोगितामा ८ टोली वरीयताका आधारमा छनोट हुँदा कम्बोडिया र साउदी अरब च्यालेन्जर्स कप प्रतियोगिताबाट छनोट भएका छन् । गत संस्करण नेपालमै भएको थियो । जुन एकदिवसीय फर्म्याटको प्रतियोगितामा हुँदा नेपालले यूएईलाई फाइनलमा पाखा लगाउँदै उपाधि चुमेको थियो ।
नेपालले यस प्रतियोगिताका लागि पनि भारतमा त्रिकोणात्मक टी सिरिज खेलेर प्रतियोगिताको तयारी गरेको थियो । तर भारत भ्रमणमा प्रतियोगिता भन्दा पनि प्रशिक्षण र ओमानको वातावरणसँग घुलमिल हुने अवसर बढी महत्त्वपूर्ण रहेकाे थियो । विहीबार बिहान मात्र ओमान आइपुगेका कारण टोलीले हिजो प्रशिक्षण गरेको छैन ।
नेपालले मलेसियाविरुद्ध निकै बलियो इतिहास बोकेको छ । हालसम्म ९ टी खेलमा नेपालले ८ खेलमा जित दर्ता गर्दा मलेसिया एक खेलमा मात्रै विजयी भएको छ । पछिल्लो ५ खेलमा नेपालले नै जित हासिल गरेको छ । अक्टोबर २०२३ मा भएको पछिल्लो भेटमा नेपालले मलेसियालाई टी २० विश्वकप छनोट अन्तर्गतको खेलमा ६ विकेटले पराजित गरेको थियो ।
आज प्रतियोगिता अन्तर्गत समूह ‘ए’ मा कतार र हङकङ पनि भिड्नेछन् । यस समूहमा साउदी अरब पनि रहेको छ । प्रतियोगिताको समूह ‘बी’ मा ओमान, यूएई, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् ।
दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।
एसिया कपमा छनोट हुँदै भारत पाकिस्तान जस्ता विश्वका नम्बर १ देशसँग खेल्ने अवसर जुराउन पनि नेपालका लागि यो प्रतियोगिता निकै महत्वपूर्ण मानिएको छ । उसो त यस प्रतियोगितामा नेपाललाई उपाधि दाबेदार पनि मानिएको छ तर अर्को समूहमा ओमान र यूएई जस्ता बलिया टोली रहेका छन् ।
यूएईलाई बेला बखत पाखा लगाउँदै नेपालले ठूला अवसर पनि जुराएको छ भने ओमान नेपाल भन्दा केही बलियो मानिएको छ ।
पहिलो संस्करणको एसीसी प्रिमियर कप खेल्दा काे काे थिए नेपाली टोलीमा ?
सन् २०२३ मा भएको पहिलो संस्करणको एसीसी प्रिमियर मेन्स कपमा कप्तानी गरेका रोहित कुमार पौडेल यस पटक पनि आफ्नो टोलीलाई उपाधि लक्ष्यका साथ मैदान उतार्ने छन्।
दोस्रो पटक एसीसी प्रिमियर कपमा कप्तानीको जिम्मेवारी पाएका पौडेलको टोलीमा यस पटक पनि केही पुरानै खेलाडी दोहोरिएका छन् भने केही नयाँ अनुहारले स्थान पाएका छन्।
यस पटक टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, सन्दिप जोरा, गुलसन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, अनिल साह र आशिफ शेख रहेका छन्।
पहिलो संस्करणमा कप्तान पौडेलसहित कुशल भुर्तेल, आशिफ शेख, आरिफ शेख, ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, कुशल मल्ल, सोमपाल कामी, ललित राजवंशी, दिपेन्द्रसिंह ऐरी, भीम सार्की, प्रतिश जीसी, करण केसी र गुलसन झा रहेका थिए।
नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, स्पिनर सन्दिप लामिछाने, आरिफ शेख र भीम सार्की यस पटक टोलीमा छैनन् भने अविनाश बोहरा, विवेक यादव र अनिल साहले स्थान पाएका छन्। अन्य खेलाडी भने पहिला नै एसीसीको अनुभव गरिसकेका छन्।
पूर्व कप्तान ज्ञानेन्द्र मल्लले खेल जीवनबाट सन्यास लिई सकेका छन् । उनी हाल नेपाल ए टोलीकाे मुख्य प्रशिक्षककाे रूपमा रहेका छन् । स्पिनर तथा पूर्व कप्तान सन्दीप लामिछानेलाई भने बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौं दोषी ठहर गरि दिएपछि उनी हाल पुनरावेदनको फैसलाको प्रतिक्षामा रहेका छन् ।
यस्तै भीम सार्की र आरिफ शेख भने हाल नेपालको ए टोलीमा रहेका छन् ।












