कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता परिवर्तन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले यस अघि संसदीय दलको नेता रहेका घनश्याम चौधरीलाई बर्खास्त गर्दै कैलाश चौधरीलाई दलको नेता तोकेकी छन् ।
अध्यक्ष श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै पार्टीको चैत्र २५ गते सोमबार बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय उल्लेख गर्दै यस अघिका संसदीय दलको नेताका रुपमा घनश्याम चौधरीले काम काज गर्ने सहमति भएकोमा उनले दलको निर्देशनको पालना नगरेकोले हटाइएको जनाइएको छ ।

यस अघि अध्यक्ष श्रेष्ठले प्रदेश सांसद इन्दिरा गिरीलाई पद मुक्त समेत गरेकी थिइन्।
केन्द्रमा फागुन २१ गते फेरिएको सत्ता समीकरणपछि नागरिक उन्मुक्ति पार्टीमा दुई धार बनेको छ । पार्टी अध्यक्ष श्रेष्ठ पक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा रह्यो भने पार्टी संरक्षक रेशमलाल चौधरीले भने उक्त सरकारलाई नसघाउने अडानमा रह्यो । यही बीचमा अध्यक्ष श्रेष्ठको निर्देशनमा सरकारलाई समर्थन गर्यो ।
यता सुदूरपश्चिममा कांग्रेसका कमल बहादुर शाह नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा रेशम थिए भने रञ्जिता त्यसको विपक्षमा रहिन् । चैत २२ गते प्रदेश सभा समक्ष मुख्यमन्त्री शाहले विश्वासको मत मागे । रञ्जिताले निर्देशन दिए पनि पाँच जना सांसद मत दिने पक्षमा रहेका थिए भने दुई जना त्यसको विपक्षमा रहे । अन्ततः मत नपाउने भएपछि मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिएका थिए । मुख्यमन्त्री शाह गत फागुन २३ गते एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए ।
केही समयदेखि नागरिक उन्मुक्ति पार्टीमा आन्तरिक द्वन्द्व चर्की रहेको छ ।
कतिपयले यसलाई श्रीमान श्रीमतीको झगडाको संज्ञा दिएका छन् ।













