कैलाली । कैलालीका कुमाल समुदायले परम्परागत माटोका भाडा बनाउन छाडेका छन् ।
जिल्लाकाे घोडाघोडी नगरपालिका ६, बसन्ताका कुमाल समुदायका नागरिकले विगत ८ बर्षयता माटाका भाँडा बनाएका छैनन् । माटाका भाँडले बजार पाउन छाडेको र उक्त भाँडाको विकल्पमा प्लाष्टिकका भाँडा आएका कारण माटाका भाँडाले बजार नपाएको उनीहरू बताउँछन् ।
घोडाघोडी नगरपालिका ६, बसन्ताका कुमाल समुदायका १२ घरपरिवारले वर्षौ देखि माटाका भाँडा बनाउँदै जीवन निर्वाह गर्दै आएका थिए । तर, अहिले ४ जनाले मात्र माटाका भाँडा बनाउने काम गर्ने गरेको स्थानीय डुल्लु कुमालले बताए । उनले भने, ‘पहिले हामी सबैले माटाबाट विभिन्न भाँडा बनाउने गरेका थियौँ, अहिले हामी ४ जनाले मात्र माटाको भाँडा बनाउने काम गरिरहेका छौँ ।’ त्यसमा पनि माटाको दिया मात्र बनाउने गरेको डुल्लुले बताए ।
बर्षै देखि माटाका भाँडाका रुपमा भग्री, गाग्री, करुवा, दियाे, खुत्रूके, गमला लगायतका सामग्री बनाउने उनीहरूले अहिले माटाबाट बनेको दियाे बाहेकका अन्य सामाग्री बनाइरहेका छैनन् । दियाे पनि दिपावलीको समय बाहेक अन्य समयमा बिक्री हुँदैनन् । आफूहरू कुनै समयमा कमैया बस्ने मान्छे, खेतीपाती तथा आयश्रोत नभएको समयमा यही माटाको भाँडाले राम्रो आम्दानी गर्दै आएको सम्झँदै रामशरण कुमालले भने, ‘बाजेहरूको जग्गा जमिन थिएन, यही माटाको भाँडाबाट आएको धान तथा गहुँ बेचेर राम्रो आम्दानी हुने गरेको थियो ।’
कुनै समय प्रत्येक थारू समुदायका घरमा पाइने माटाका भाँडा अहिले कसैको घरमा पाइँदैनन् । माटाका भाँडाको बजार प्लास्टिकका भाँडाले लिए पछि माटाको भाँडा बनाउन छाडेको भगतराम कुमाल बताउँछन् । उनी भन्छन्, ‘पहिले माटाका भाँडा बढी बिक्री हुन्थे, एक गाउँमा एक डलप (गोरु गाडा) भाँडा एकै पटक बिक्री हुने गरेको थियो । अहिले माटाको भाँडाको सट्टामा प्लास्टिकका सामान प्रयोग भइरहेका छन् ।’

तीनै तहका सरकारले स्थानीय ज्ञान, सीपको संरक्षण गर्ने नीति अवलम्बन गरेका छन् । नेताका भाषण देखि विद्यालयका पाठ्य पुस्तक तथा कक्षा कोठामा स्थानीय ज्ञान सीपको संरक्षणका विषयमा ठूला कुरा गरिन्छ । स्थानीय तहले स्थानीय उत्पादन तथा कच्चा पदार्थमा आधारित उद्यमशीलताका क्षेत्रलाई प्राथामिकता दिइने बताइरहेका छन् ।
तर, यता व्यवहारमा त्यस्तो पेशा अँगाल्नेहरू जीवननिर्वाह गर्न सकिरहेका छैनन् । वर्षौ देखि परम्परागत सीपमा आधारित पेशा गर्दै आएकाहरू पुर्ख्यौली पेशा छाडी पलायन भइरहेका छन् । यस्ता सीप र कलाको संरक्षण गरि नयाँ पुस्तालाई आकर्षण गर्न सके स्वरोजगारी सिर्जना भई यस्तो सीप भएका नागरिकको जीवनयापन सहज हुने देखिन्छ ।














