कैलाली । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले वैशाखमा हुने उपनिर्वाचनमा आफ्नै पार्टीबाट उम्मेदवार उठाउने भएको छ ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले प्रतिनिधि सभामा तर्फ इलाम र प्रदेश सभा तर्फ बझाङ-१, मा हुन लागेको उपनिर्वाचनमा गठवन्धन नगर्ने निर्णय गरेको छ ।
त्यसका लागि माओवादीले गठबन्धन नगरी आफ्नै पार्टीबाट उम्मेदवार उठाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाले सञ्चारकर्मीलाई जानकारी दिएका हुन् ।
सापकोटाले उम्मेदवारको नामको विषयमा भने छलफल बाँकी नै रहेको र अर्को बैठकबाट टुङ्गो लाग्ने बताएका हुन् ।
उता एकीकृत समाजवादीले पनि बझाङको प्रदेश सभा सदस्यको उम्मेदवारको टुङ्गो लगाएको छ ।
समाजवादीले बझाङ १ को प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य मोहन गौतमले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।
सिंह एकीकृत समाजवादीका बझाङ जिल्ला अध्यक्ष पनि हुन् ।













