पनिकाको गल्तीमा विद्यार्थीलाई दुःख, सच्चिदैन त्रिवि

कैलाली । त्रिभुवन विश्वविद्यालय नेपालकै एक ‘प्रतिष्ठित विश्वविद्यालय’ मानिन्छ । त्यति मात्रै हैन त्रिविको गरिमा विश्वमा समेत छ । ‘टाइम्स हायर एजुकेशन’ले सर्वेक्षणमा उत्कृष्ट १५ सयको सूची तयार गर्दा त्रिवि सन् २०१९ देखि सन् २०२३ सम्म लगातार उत्कृष्ट आठ सय देखि एक हजारको सूचीमा रहन सफल रह्यो । यसरी उक्त आँकडालाई हेर्दा पनि थाहा हुन्छ अन्तर्राष्ट्रिय स्तरमा त्रिविको गरिमा । वि.स.२०१६ सालमा स्थापना भएको यो विश्व विद्यालयले निकै शैक्षिक उपलब्धि हासिल गर्यो तर यसरी केही वर्ष अघि त्रिविले अन्तर्राष्ट्रिय स्तरमा बनाएको छविको बयान गरि रहँदा पछिल्लो केही समय यता भने त्रिविमा समस्याको चाङ नै लागेको छ । एक पछि अर्को रुपमा खस्किदै गएको उक्त विश्व विद्यालय सन् २०२४ मा ‘टाइम्स हायर एजुकेशन’ले गरेको सर्वेक्षणमा समेत खस्किन पुग्यो । लगातार पाँच वर्षसम्म उत्कृष्ट एक हजारको सूचीमा रहँदै आएको त्रिवि यस भने पटक १२ सयदेखि १५ सयको सूचीमा समेटियो । 

एकपछि अर्को गर्दै खस्किँदो अवस्थामा रहेको त्रिवि पछिल्लो समय आफूलाई सुधार्न प्रयत्नशील रहे पनि त्यो सफल हुन सकेको छैन् । चर्को राजनीतिकरणले मात्रै नभई त्यसभित्र रहेका कर्मचारी तथा पदाधिकारीहरूको लापरवाहीले यस विश्वविद्यालयहरूलाई डामाडोल पारि रहेको छ । उसो त नेपालका अन्य विश्वविद्यालय पनि चरम राजनीतिकरणले थला परेका छन् । विश्वविद्यालयका केन्द्रीय कार्यालयमा वर्षमा एक दुई महिनामा ताला खुल्ने गरेको पाइन्छ । विभिन्न माग राख्दै राजनीतिक दलका सङ्गठनहरूले देखाउने गरेको दादागिरीले पनि नेपालका विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्कि रहेको छ भन्दा फरक पर्दैन । 

यस्तै प्रवृत्तिबाट त्रिवि पनि अछुत रहन सकेन । यस्तै प्रवृत्तिले विगत केही वर्ष यता झनै त्रिवि लथालिङ्ग अवस्थामा रहेको छ । चर्को राजनीतिकरणले गर्दा त्रिवि यस्तो अवस्थामा पुगेको हो भन्दा कसैले दुःख मान्नु पर्ने स्थिति छैन । नेपालमा राजनीतिक संघ संगठन विद्यार्थीका मात्रै हैन कर्मचारी लगायत हरका राजनीतिक संगठन छन । त्यसकारण राजनीतिले शैक्षिक संस्थाहरू तहसनहस भएका हुन् । कर्मचारीले सानो होस् या संवेदनशिल विषयमा गल्ती गर्दा पनि राजनीतिक संरक्षण हुने हुँदा त्रिविका पदाधिकारीले आफ्नो गल्ती दोहोर्याउन छोडेका छैनन् । 

त्रिविले आफ्ना शैक्षिक कार्यक्रमलाई समेत समय तालिका अनुरूप अगाडि बढाउन सकी रहेको छैन् । कोरोना महामारीदेखि अस्तव्यस्त बनेको त्रिवि अझै लयमा फर्केको छैन् । समयमा नै परीक्षा सञ्चालन गर्न नसक्नु, नतिजा प्रकाशन समयमै नहुनु, प्रकाशन नतिजामा पनि व्यापक त्रुटि देखिनुले पनि त्रिवि खस्किदै गएको भान हुन्छ । त्यति मात्रै हैन बेला बखत त्रिविमा विद्यार्थीका उत्तर पुस्तिका जस्ता संवेदनशील बस्तु हराउने गरेका छन् । जसले गर्दा पदाधिकारीको समेत गम्भिर लापरवाही देखिने गरेको छ । 

उत्तरपुस्तिका समेत हराउने त्रिवि

‘नेपालमा कुनै पनि अपराध गर्नेले उन्मुक्ति पाउँछ तर गल्ती नै नगर्ने सजायको भागिदार बन्छ’ भन्दा अचम्म मान्नु पर्दैन । यहाँ राजनीतिक संरक्षण निकै हुन गर्दछ । यदि त्यस्तो हैन भने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको उत्तरपुस्तिका हराउने कार्य बारम्बार दोहोर्याउँदा समेत किन कारवाही हुँदैन त्यहाँका पदाधिकारीलाई ? गत वर्ष वैशाख ४ गते देखि सुरु भएको स्नातक तहको परीक्षाको नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरूलाई यसपटक पनि पनिकाले नराम्रो झापड दिएको छ । एक वर्ष बित्नलाग्दा नतिजा नआएर हैरान बनेका विद्यार्थीको अन्ततः पनिकाले उत्तर पुस्तिका नै हराएको सूचना बाहिर आयो । 

गत वैशाखमा भएको परीक्षा मध्ये जनसंख्या विषयका १ सय ८३ थान उत्तरपुस्तिका नै हराएको जनाएको छ । परीक्षा सकिएर परिक्षण भैसकेपछि सम्परीक्षणका लागि पनिकामा ल्याइए पनि लेजरमा प्राप्त अङ्क चढाउने बेलामा उत्तरपुस्तिका नभेटिएको त्रिवि पनिकाका एक अधिकारीले बताए । ती पदाधिकारीले कुनै सङ्कोच नमानी सीधाकुरा डट कमसँग भनेछन्, ’खोज्नु पर्ने सबै ठाउँमा खोजियो कतै भेटिएन, पुराना उत्तरपुस्तिका चलाउने बेलामा यि उत्तरपुस्तिका भएको पोको पनि परेको हुन सक्ने देखियो ।’ 

त्रिविमा उत्तरपुस्तिका हराउने रोग नौलो समस्या भने हुँदै होइन । गत वर्ष पनि बीबीएस चौथो वर्षको उत्तरपुस्तिका हराएपछि साढे २ सय विद्यार्थीले पुनः परीक्षा दिएका थिए । झापाको दमक बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका हराएपछि पुनः परीक्षा दिनु परेको थियो । तर यस पटक हराएका उत्तरपुस्तिका कुन क्याम्पसका हुन भनेर खुलाउन भने त्रिविका पदाधिकारी चाहँदैनन् । 

यसरी बारम्बार उत्तरपुस्तिका हराउँदा समेत कुनै कानुनी दायरामा त्रिविका पदाधिकारी हाल सम्म परेका छैनन् । 

पनिकाको गल्तीमा विद्यार्थीलाई दुःख 

उत्तरपुस्तिका हराउने त्रिवि पनिकाका कर्मचारी, गल्ती दोहोर्याउने तिनै पदाधिकारी, मनलाग्दी गर्ने तिनै अनि दुःख चाहिँ विद्यार्थीलाई किन ? गल्ती गर्ने ती पदाधिकारीलाई कुनै कारवाही नहुने तर उत्तरपुस्तिका हरायो भन्दै विद्यार्थीलाई भने पुनः परीक्षा दिन लगाउने र विद्यार्थीलाई दुःख चाहिँ जहिले पनि किन ? यस पटक पनि कपी नभेटिएकाले पुनः परीक्षा दिन लगाउने तयारी भइरहेको पनि त्रिवि पदाधिकारी बताई रहेका छन् । गल्ती उनीहरूले गर्ने अनि सजाय चाहिँ सधैँ विद्यार्थीलाई किन ? गतवर्ष पनि पुनः परीक्षा गराएर मात्रै नतिजा सार्वजनिक गरेको थियो । यस पटक पनि गल्ती उही तर सजाय विद्यार्थीहरूमाथि लाद्न खोजिँदै छ ।

बनेको छानबिन समिति सुतिरहेकै बेला अर्को ताण्डव गत वर्ष उत्तरपुस्तिका गराएपछि हराएको उत्तरपुस्तिका खोज्न छानबिन समिति बनाइयो । परीक्षा दिएर नतिजा सार्वजनिक भएर पनि वर्ष बित्यो तर त्रिवि राजनीतिक शास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख ईश्वरीप्रसाद कँडेलको संयोजकत्वमा गठित दुई सदस्यीय छानबिन समितिले छानबिन सकिए पनि प्रतिवेदन बुझाउन बाँकी रहेको जनाइएको छ । 

गठित छानबिन समितिको प्रतिवेदन आउन बाँकी छ तर पनिकाले उही गल्ती फेरि पनि दोहोर्याई सकेको छ । अब उक्त प्रतिवेदन डस्टबिनमा राख्न बाहेक अन्य काम छैन ।

परीक्षा गराउँदै दोषीलाई उन्मुक्ति 

त्रिविको लापरवाहीले लगातार दुई वर्ष उत्तरपुस्तिका हराउँदा पनि दोषीमाथि कुनै कारवाही भएको छैन । उल्टै पुनः परीक्षा गराएर दोषीलाई उन्मुक्ति दिने कार्य बारम्बार भइरहेको छ ।पनिकाको लापरवाहीले बेला बखत त्रिविको बदनाम भइरहेकी छ । तर पनिकाका पदाधिकारी गल्ती दोहोर्याउन छोड्दैनन् किनकि उनीहरूलाई कारवाही नै हुँदैन । 

अव यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बन्दै हाल सरकारको शिक्षा मन्त्री बनेकी शुमना श्रेष्ठले कस्तो कदम चाल्छिन् त्यो भने हेर्न बाँकी नै छ । उनले बारम्बार त्रिविको गल्ती देखाउँदै आएकी थिइन । अब उनको पनि परीक्षा हुने छ । 

यसरी बारम्बार त्रिविले गल्ती गरि रहने अनि सजायको भागिदार विद्यार्थी हुने प्रवृत्ति अब सह्य हुँदैन ।

Share