आईपीएल क्रिकेट : गुजरातमाथि फराकिलो जित हात पार्दै चेन्नाई लगातर दोस्रो खेलमा विजयी

कैलाली । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता चेन्नाई सुपर किङ्गले लगातार दोस्रो जित हात पारेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा मंगलबार राती सम्पन्न खेलमा चेन्नाईले गुजरात टाईटन्स माथि ६३ रनको फराकिलो जित निकालेको हो ।
२ सय ७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर जम्मा १ सय ४३ रन मात्र बनाउन सक्यो ।
उसका लागि साइ सुदर्शनले बनाएको ३७ रन नै सर्वाधिक स्कोर रहन पुग्यो । यस्तै रिद्धिमान शाह र डेभिड मिलरले समान २१ रन बनाए । अन्य ब्याटरले सम्झिनलायक प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ चेन्नाईका लागि मुस्तफिजुर रहमान, तुशान देशपाण्डे र दीपक चहरले समान २ तथा ड्यारेल मिचेलमथीसा पाथीरानाले १-१ विकेट हात पारे ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रनको विशाल आँकडा तयार गर्यो ।

उसका लागि शिवम् दुबेले २३ बलमा ५१ रनको सानदार इनिङ खेले । त्यस्तै ओपनर रचिन रविन्द्रले २० बलमा ४६ रनको विष्फोटक इनिङ खेल्दै पेभिलियन फर्किए । कप्तान ऋतुराज गाइक्वाडले पनि ४६ रन नै बनाए । ड्यारेल मिचेल २४ रनमा अविजित रहे । 

गुजरातका लागि राशिद खानले २ तथा साइ किशोर, स्पेन्सर जोन्सन र मोहित शर्माले समान १ विकेट लिए ।

गुजरातले पहिलो खेलमा मुम्बई इन्डियन विरुद्ध जित निकालेको थियो भने चेन्नाईले रोयल च्यालेन्जर्स बेङ्लोरले पराजित गरेको थियो । यो जितसँगै चेन्नाई २ खेलमा ४ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । 

आईपीएलमा आज पनि एक खेल हुने भएको छ । आजको खेलमा मुम्बई र सनराइजर्स हैदराबाद भिड्ने भएका छन् । पहिलो खेलमा हार बेहोरेका दुई टोली मुम्बई र सनराइजर्स हैदरावाद आज पहिलो जितको खोजीमा रहेका छन् । हैदरावाद पहिलो खेलमा कोलकाता नाइट राइडर्ससँग ४ रनले पराजित भएको थियो । 

Share