कैलाली । चालु आर्थिक वर्षको पछिल्लो ८ महिनामा मात्रै सुदूरपश्चिममा आगलागीबाट ४ करोड ४६ लाख ७४ हजार ४ सय ५० मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
चालु आर्थिक वर्ष सुरु भएको ८ महिनामा मात्रै आगलागीबाट ठूलो परिणाममा धनमाल जलेर नष्ट भएको बताइएको छ । प्रदेशका नौ ओटै जिल्लामा आगलागीका घटना यस वर्ष पनि दोहोरिएका हुन् । भौतिक र आर्थिकसँगै आगलागीबाट मानवीय क्षति समेत भएको पाइएको छ ।
उक्त अवधिसम्म आगलागीबाट तीन महिला र तीन पुरुष गरि ६ जनाको मृत्यु भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र (पीइओसी) धनगढीको विवरणमा उल्लेख गरिएको छ ।
साथै उक्त अवधिमा आगलागीबाट १२ महिला र ८ पुरुष गरि २० जना घाइते भएका छन् । यसका साथै यस प्रकारको घटनाबाट १ सय ५६ परिवार प्रभावित बन्न पुगेका छन् । आगलागीबाट १६ घरमा पूर्ण क्षति हुँदा १३ घरमा आंशिक क्षति पुगेको समेत पीइओसीले सङ्कलन गरेको विवरणमा उल्लेख छ । सो अवधिमा ३१ वटा गोठमा आगलागी भएर ४० पशु चौपायामा क्षति पुगेको पनि जनाइएको छ ।
साउनदेखि फागुन मसान्तसम्म घटेका आगलागीका घटनाबाट ४ करोड ४६ लाख ७४ हजार ४ सय ५० मूल्य बराबरको धनमाल जलेर नष्ट भएको केन्द्रको अनुमान छ ।
प्रदेशभित्र सबैभन्दा बढी नोक्सानी आगलागीबाटै हुने गरेको पाइएको हो । विशेष गरी आगलागीका घटना विद्युतको तार सर्ट भएर, ग्यास लिक भएर, एक स्थानमा बालेको आगो अर्का स्थानमा सल्केर, विद्युतीय उपकरण पट्केर, अज्ञात व्यक्तिले गरेको बदमासीले र चुरोट तथा बिडीको ठुटा जथाभावी फाल्ने लगायत कारणबाट हुने गरेको देखिएको छ । पछिल्लो समय विद्युतको तार सर्ट भएर बढी घटना हुने गरेको देखिएको छ ।













