आईपीएल उद्घाटन : बैङ्ग्लोरमाथि चेन्नाईको सानदार जित

कैलाली । शुक्रबारदेखि १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शुभारम्भ भएको छ । उद्घाटन खेलमा साविक विजेता चेन्नाई सुपर किङ्गस र रोयल च्यालेन्जर बैङ्ग्लोर भिडे । जसमा चेन्नाईले आफ्नो पक्षमा नतिजा हात पार्यो । बैङ्लोरमाथि ६ विकेटको जित हात पार्दै चेन्नाईले विजयी सुरुवात गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको बैङ्ग्लोरले निर्धारित २० ओभरमा ६ गुमाएर १ सय ७३ रनको चुनौतीपूर्ण लक्ष्य खडा गर्यो ।

१ सय ७४ रनको चुनौतीपूर्ण लक्ष्य लिएर जबाफी ब्याटिङमा उत्रिएको चेन्नाईले १८.४ ओभरमा मात्रै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

उसको जितमा ओपनरद्वय कप्तान रुतुराज गायक्वाडले १५ र रचिन रविन्द्रले ३७ रन बनाए । त्यस्तै अजिन्क्या रहानेले २७, डेरिल मिचेलले २२ रन जोड्दा शिवम् दुवे ३४ र रविन्द्र जडेजा २५ रनमा अविजित रहे ।

बलिङतर्फ बैङ्ग्लोरका क्यामरुन ग्रीनले २ विकेट हात पार्दा यश दयाल र कर्ण शर्माले समान एक विकेट लिए ।

त्यसअघि चेन्नाईमा टस जितेर पहिला ब्याटिङ गरेको बैङ्ग्लोरका लागि विकेट किपर अनुज रावतले सर्वाधिक ४८ रनको पारी खेल्दै आउट भए । कप्तान फाप डु प्लेसिसले ३५ रन र विराट कोहलीले २१ रन जोड्दा दिनेश कार्तिक २८ रनमा अविजित रहे । त्यस्तै क्यामरुन ग्रीनले १८, रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा पेभिलियन फर्किए ।

चेन्नाईका लागि मुस्तफिजुर रहमानले किफायती बलिङ प्रदर्शन गरे । उनले ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर ४ विकेट हात पारे । उनले कप्तान फाप डु प्लेसिस, विराट कोहली, रजत पटिदार र क्यामरुन ग्रीन जस्ता चर्चित खेलाडीको विकेट हात पार्दै बैङ्ग्लोरको पारीलाई ध्वस्त गरेका थिए । त्यस्तै दीपक चहरले एक विकेट लिए ।

उद्घाटन समारोहमा भारतीय कलाकारहरू अक्षय कुमार, एआर रहमान, सोनु निगम, मोहित चौहान, निती मोहन लगायतले प्रस्तुति राखेका थिए । आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने पहिलो खेल पञ्जाब किङ्गस र दिल्ली क्यापिटलस तथा आजको दोस्रो खेलमा राति पौने ८ बजे कोलकाता नाइट राइडर्स र सनराइज हैदराबाद खेल्ने समय तालिका रहेको छ ।

Share