दादुरा–रुबेलाविरुद्धको खोप अभियान : देशभरी ५६ लाख ४३ हजार बालबालिकाले लगाए खोप

कैलाली । सरकारले गत फागुन १३ गते देखि चैत ७ गतेसम्म सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा देशैभरि ५६ लाख ४३ हजार ९ सय १२ जना बालबालिकाले खोप लगाएका छन् । सरकारले दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी उक्त खोप अभियान सञ्चालन गरेको थियो ।

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिका खोप लगाउने लक्ष्य रहेकामा ५६ लाख ४३ हजार ९ सय १२ जनाले बालबालिका खोप लगाएका हुन् । उनले लक्ष्यअनुसार बालबालिकाले खोप लगाएका भन्दै प्रारम्भिक चरणको प्रतिवेदनमा ९६ प्रतिशतले खोप लगाएका पाइएको बताए ।

सरकारले यस वर्ष दादुरा–रुबेलाको सङ्क्रमणलाई ध्यान दिँदै पश्चिम रुकुम र जाजरकोट जिल्लाबाहेक देशका ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको थियो । पश्चिम रुकुम र जाजरकोटमा यस अघि नै अभियान सञ्चालन गरेको थियो ।

भारतसँग सीमा जोडिएका २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाएको थियो । खोप अभियान सफल बनाउन देशभर ४८ हजार ७ सय ९८ खोप केन्द्रमा ४९ हजार ९ सय ३७ जना स्वास्थ्यकर्मी र ५९ हजार ९ सय ६ जना स्वयंसेवक परिचालन गरिएको थियो ।

Share