काठमाडौं । सुन तस्करी प्रकणमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई आज बिहान कपिलवस्तुबाट पक्राउ गरेको प्रहरीले जनाएको हो ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरका अनुसार उनलाई सुन तस्करी सम्बन्धी अनुसन्धान गर्न पक्राउ गरिएको हो । सुन तस्करी सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदनले तस्करीमा महराको संलग्नता रहेको ठहर गरेको थियो ।
त्यसपछि आइतबार गृहमन्त्री रवि लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई आयोगको प्रतिवेदन अनुसार कारबाही अघि बढाउन निर्देशन समेत दिएका थिए । महरा भेप मार्फत भएको सुन तस्करीमा संलग्न रहेको आयोगले ठहर गरेको थियो ।
सुन तस्करी प्रकरणमा पक्राउ महरा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षका साथै पूर्वसभामुख समेत हुन् । पक्राउ पश्चात महरालाई काठमाडौँ ल्याइएको छ । कपिलवस्तुबाट नेपाल प्रहरीले यति एअरलाइन्समार्फत भैरहवा विमानस्थलबाट काठमाडौँ ल्याएको हो । उनलाई लाजिम्पाटस्थित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी लगिएको जनाइएको छ ।
सुन तस्करी प्रकरणमा प्रहरीले यसअघि शुक्रबार पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुनलाई ललितपुरको झम्सिखेलबाट पक्राउ गरेको थियो । यस प्रकरणका मुख्य आरोपी दावा छिरिङप्रहरीको नियन्त्रणमा रहेका छन् । गत साउन २ गते हरले बरामद गरेको ६० किलो सुन तस्करीमा दावा पक्राउ परेपछि उनीसँग पुनको सम्बन्ध देखिएपछि प्रहरीले पक्राउ गरेको थियो । यस प्रकरणमा महराको पनि संलग्नता देखिएपछि उनी पनि पक्राउ परेका हुन ।













